कञ्चनपुर। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा गोपीप्रसाद उपाध्यक्ष, निर्वाचन क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह र निर्वाचन क्षेत्र नं ३ मा केशवबहादुर चन्द विजयी भएका छन्।
आज सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचित उपाध्यायले २६७ मत प्राप्त गरी विजयी भएका छन्। उहाँका प्रतिद्वन्द्वी हरि चन्द ठकुरीले २२९ मत प्राप्त गर्नुभयो । सचिवमा बिसराम राना र पदमबहादुर रोकाया विजयी भएका छन्। सहसचिव पदमा सुरेन्द्र राना र हर्कबहादुर विष्ट (हार्दिक) विजयी भएका छन् ।
यसै गरी, निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा विजयी भएका सिंहले ३४१ मत ल्याए । उहाँका प्रतिद्वन्द्वी नवराज जोशीले १५७ मत ल्याए । क्षेत्रीय सचिवमा गणेशबहादुर विष्ट र थानेश्वरप्रसाद भट्ट विजयी भए। सहसचिव पदमा काशीराम भाट र रमेशप्रसाद भट्ट विजयी भए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा केशवबहादुर चन्द विजयी भएका छन् । चन्द प्यालनसहित विजयी भएका छन्। चन्दले ३३० मत ल्याए भने उहाँका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत ल्याए । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट विजयी भएका छन्। सहसचिवमा अर्जुनदत्त भट्ट र खड्कबहादुर बस्नेत विजयी भएका छन्।
पार्टीका जिल्ला सभापति बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित
पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पार्टी सभापति हरिप्रसाद बोहरा पराजित भएका छन् । बोहराले २४४ मत ल्याए ।पार्टी सभापति बोहरा ११ औँ नम्बरमा परे। बोहराले महाधिवेशन प्रतिनिधि जितेमा पुनः पार्टी सभापतिका लागि चुनावी मैदानमा ओर्लने चर्चा थियो । महाधिवेशन प्रतिनिधिबाटै पराजित भएपछि पुनः पार्टी सभापति हुने चर्चा त्यसै सेलाएको छ । पूर्व पार्टी सभापति बहादुरसिंह थापाले भने सर्वाधिक ३६६ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्।
त्यस्तै पूर्व संविधानसभा सदस्य बलदेव बोहरा १९० र पार्टीका पूर्व जिल्ला सचिव भोजराज बोहरा २१३ मत ल्याई पराजित भए । दश जना खुल्ला महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा १९ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन अधिकृत राजेन्द्रप्रसाद पाण्डेयका अनुसार महाधिवेशन प्रतिनिधिमा विजयी हुनेमा उद्धव बोहरा, चिन्तामणि भट्ट, टीका बैज, दलबहादुर बोहरा, दुर्गाप्रसाद भट्ट, पुष्करराज ओझा, बहादुरसिंह थापा, मीनबहादुर सिंह, लोकबहादुर देउवा र हेमराज ओझा रहेका छन् ।
यसै गरी, नेपाली कांग्रेस कञ्चनपुरका सचिव ईश्वरीप्रसाद जोशी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पन्न मत गणनाअनुसार उहाँ महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको हो। नेकां केन्द्रीय सदस्य रमेश लेखक निकटको प्यानल बनाउन महत्त्वपूर्ण भूमिकामा रहेका जोशी जिल्ला सचिवमा मनोनीत हुनुअघि उहाँका स्वकीय सचिव हुनुहुन्थ्यो । जोशीले १५० मत ल्याउँदा १० नम्बरमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित वीरबहादुर सुनारले १७८ मत ल्याएका छन्।निर्वाचन क्षेत्र ३ बाट बेलबहादुर राना, यज्ञराज जोशी, प्रकाश थापा, दीपक सिंह, जङ्गबहादुर चन्द, खगेश्वर बोहरा, पदम बोगटी, आसिफ कुँवर, तारणीदत्त चटौत र वीरबहादुर सुनार खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।