डडेल्धुरा। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका अवैधरुपमा अधिवेशन गराएर ठेकेदारलाई सभापति चयन गरेको भन्दै विरोध प्रदर्शन गरिएको छ। अवैध ढंगले सातौं जिल्ला अधिवेशन सम्पन्न गरेको भन्दै नेपाली कांग्रेस डडेल्धुराको असन्तुष्ट पक्ष(मल्ल पक्ष) ले विरोध गरेको हो।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सोमबार जिल्ला अधिवेशन भएको थियो।अधिवेशनबाट परशुराम नगरपालिकाका नगर प्रमुखसमेत रहेका भीमबहादुर साउद सभापति बनेका छन्। निवर्तमान सभापति कर्णबहादुर मल्ल पक्षले अधिवेशन अवैध भएको भन्दै मंगलबार जिल्ला सदरमुकाममा मोटरसाइकल र्याली निकालेको छ।मल्ल पक्षका नेता कार्यकर्ताले कालो झण्डासहित देउवाविरुद्ध चर्का नारा लगाउँदै मोटरसाइकल र्याली निकालेका हुन्।‘शेरबहादुर देउवा मुर्दावाद’, ‘निकम्मा निर्वाचन समिति मुर्दावाद’, ‘तानाशाह मुर्दावाद’, ‘हाम्रो उजुरीमाथि निर्णय गर’, ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘कर्ण मल्ल जिन्दावाद’ लगायत नारा लगाएका थिए। निवर्तमान सभापति मल्लले जिल्लामा भएका सबै अधिवेशन अवैध भएको दाबी गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दर्ता गराइसकेका छन्। सभापति मल्ललगायत नेता कार्यकर्ता मंसिर १ गतेदेखि राजधानी काठमाडौंस्थित सानेपास्थित केन्द्रीय कार्यालयमा अनशनरत छन्। हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, डडेल्धुराका सबै अधिवेशन बदर गर्नुपर्ने र वैधानिक रूपमा अधिवेशनको नयाँ मिति तय गर्नुपर्नेलगायत माग मल्ल पक्षको छ।
जिल्लाले पठाएका क्रियाशील सदस्यमध्ये ४ सय ६० जना बिनाकारण हटाइएको र समायोजन भएका सय जनासहित ४ सय १२ नयाँ सदस्य एकपक्षीय रूपमा थपिएको मल्ल पक्षको दाबी छ।पैसाको आडमा राजनीतिक गरेको र राजनीतिक पहुँचको आधारमा विभिन्न ठाउँमा ठेक्का लिएर काम अलपत्र पार्ने व्यक्तिलाई जिल्ला सभापति बनाएको भन्दै विरोध प्रदर्शन गरिएको छ। डडेल्धुरामा साउदलाई सभापति बनाउनका लागि विरोधीहरुको क्रियाशील सदस्यता नै काटि दिएपछि विवाद सुरु भएको थियो। उक्त विवादका बीच निर्वतमान जिल्ला सभापति कर्ण मल्ला समूहलाई बाइपास गर्दे प्रहरीको घेराभित्र वडा अधिवेशन गराइएको थियो। सबै प्रक्रियाहरु मिचेर वडा सभापति र जिल्ला सभापतिको अनुपस्थितिमा जिल्ला अधिवेशन गराएको र पार्टीलाई ठेकेदारको जिम्मा लगाएको भन्दै मंगलबार जिल्ला सदरमुकाममा मोटरसाइकल र्याली निकालेको हो।