काठमाडौ। नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्लको टोलीले रिले अनसन सुरु गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि मल्ल समूहले अनसन सुरु गरेको हो । डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै मल्ल समूह अधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।
केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्लामा जिल्ला सभापति मल्लको बहिष्कारका बीच अधिवेशन प्रक्रिया अगाडि बढेको छ । भदौ २५ गते वडा र असोज ९ गते पालिका अधिवेशन हुँदा मल्ल समूहले बहिस्कार गरेको थियो। मल्ल समूहले क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर पुन वडा र पालिका अधिवेशन गर्नुपर्ने माग गरेको छ । तर काँग्रेस केन्द्रीय निर्वाचन समितिले भने डडेल्धुराको अधिवेशनलाई मान्यता प्रक्रिया अगाडि बढाएको छ ।
समितिले मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय र मंसिर ६ गते जिल्ला अधिवेशनको मिति तोकेको छ । निर्वाचन समितिले आफ्नो मागको सुनुवाइ नगरेपछि मल्लको टोली सानेपामा रिले अनसन बसेको हो। डडेल्धुराको रिले अनसनको सुनुवाइ नभएपछि केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेको छ । मल्ल समूहलाई केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थन रहेको छ । डडेल्धुराको रिले अनसन तोड्न पौडेल समूहका नेताहरु अर्जुननरसिंह केसी, शेखर कोइराला र गुरुराज घिमिरे डडेल्धुरा पुगेका थिए । उनीहरुको रोहबरमा स्थगित भएको रिले अनसन सानेपामा फेरि सुरु भएको छ।
जिल्ला सभापति मल्ल, नेविसंघका पूर्वअध्यक्ष केशव सिंह, उपसभापति करुणाकर भट्ट, पूर्व जिल्ला सभापति पदम भट्ट, महाधिवेशन प्रतिनिधि हरि भट्ट, भागेश्वर गाउँपालिका पूर्वसभापति नरबहादुर ठकुराठी र परशुराम नगरपालिका १२ का पूर्वसभापति राजबहादुर भण्डारीले रिले अनसन सुरु गरेका छन्। यस्तै जिल्ला नेताहरु नेता भोजराज भट्ट, लोकराज भट्ट, गोकुल शाही, सन्तोष देउवा, भुवन भट्ट र नवदुर्गा ४ का पूर्व वडा सभापति रमेश ऐरलगायत पनि रिले अनसन बसेका छन् । डडेल्धुरा जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउद समूहले जिल्ला सभापति मल्ल नै महाधिवेशन प्रतिनिधि पराजित हुने भएपछि अनसनको नाटक भइरहेको बताएको छ । यसअघि मल्ल समूहले अधिवेशन प्रक्रिया बहिस्कार गरेर डडेल्धुरामा पनि रिले अनसन सुरु गरेको थियो ।