काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि ९ इजलास गठन गरका छन्। प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलास तोकेका छैनन्। मंगलबार १० इजलास तोकेकाका जबराले आफू नेतृत्वको इजलास भने तोकेका थिएन्।
आज दुई एकल र छ संयुक्त गरी ९ इजलासमा सबै प्रकृतिका १८६ मुद्दाको पेशी तोकिएको छ। मंगलबार प्रधानन्यायाधीशप्रति असन्तुष्ट केही न्यायाधीश भने नियमित काममा फर्केका थिए। उनीहरुले बन्दी प्रत्यक्षीकरणलगायत अन्य मुद्दा हेरेका थिए। न्यायाधीशहरु तेजबहादुर केसी,बमबहादुर श्रेष्ठ, कुमार रेग्मी र मनोजकुमार शर्माले मंगलबार नियमित काममा फर्केका हुन्। आजको इजलासमा को को न्यायाधीश फर्किन्छ त्यसबारे भन्ने टुंगो लागेको छैन।
यस्तै प्रधानन्यायाधीशप्रति असन्तुष्ट न्यायाधीश र बारबीच मंगलबार छलफल भएको थियो। सोही क्रममा वार्तामा सहभागी न्यायाधीशले आफूहरुबीच फाटो नआएको दावी गरेका थिए। तर इजलासमा बसेका चारजना न्यायाधीश भने बारसँगको छलफलमा सहभागी भएनन्।बेन्च र बारबीचको द्वन्दव नभइ जबराले न्यायालय र शुद्धीकरणमा भूमिका निर्वाह नगरेको र मन्त्रिपरिषद् एवं संवैधानिक अंगमा भागबण्डा खोजेपछि विवाद सुरु भएको कानुन व्यवसायीहरुले बताएका छन्। आज पनि बारले आन्दोलनलाई लम्ब्याउँदै सर्वोच्चको मूल गेटमा धर्ना दिएको छ। सोही क्रममा प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल पनि भएको छ।