धनगढी । नेपाली काँग्रेसको धनगढी नगर अधिवेशन आज हुने भएको छ। मंगलवार नेत्रविक्रम चन्द विप्लवको नेपाल बन्द र मतदाता नामावली प्रिन्टमा ढिलाई हुँदास्थगित भएको नगर अधिवेशन आज बिहीवार विहान ८ बजेदेखि सुरु हुने भएको हो।
नगर सभापतिका लागि निर्माण ब्यबसायी संघ कैलालीका अध्यक्ष समेत रहेका यज्ञराज उपाध्याय र रुपेश स्वार बीच प्रतिस्पर्धा हुने भएको छ। नेपाल विद्यार्थी संघबाट नेपाल काँग्रेसको राजनीतिमा सक्रिय भएका उपाध्याय अहिले नगर सचिव छन्।
रुपेश स्वार भन्दा यज्ञराज उपाध्याय नेपाली काँग्रेस कैलालीमा बलियो पक्कड भएका व्यक्ति मानिन्छन्। स्वार कैलाली उद्योग बाणिज्य संघका पुर्ब महासचिब हुन्। दुवैले उम्मेदवारी घोषणा गरेपनि हिजो साँझसम्म सहमतिमा जानका लागि प्रयास भईरहेको थियो। तर सहमति हुन भने नसकेको नेपाली काँग्रेस कैलालीले जनाएको छ।
जिल्लाका अन्य तीन स्थानीय तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन हिजो स्थगित गरिएको भएपनि आज हुने भएको काँग्रेस कैलालीले जनाएको छ। गोदावरी, चुरे, मोहन्याल, कैलारी, जोशीपुर, बर्दगोरिया, लम्की, जानकी र टीकापुरमा भने हिजो अधिवेशन भएको थियो। मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशनका लागि मिति तोकिएको छ। कैलाली काँग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मुल व्यवस्थापन समिति गठन गरेको जनाएको छ।