धनगढी। कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएसंगै आजदेखी पालिका अधिवेशन सुरू हुन लागेको छ। नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज कैलालीका १३ वटै पालिकामा अधिवेशन हुन लागेको हो।
पालिका अधिवेशनकालागि धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका, बर्दगोरिया गाउँपालिकामा उम्मेदवारी घोषणा भएको छ । कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएसंगै पालिका र क्षेत्रीय अधिवेशनका लागि दौडधुप चलेको छ। अधिकांश पालिकामा नेतृत्व चयनकालागि चुनाव हुने देखिएको छ।
सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरिसकेका छन्। आज हुने पालिका अधिवेशनका लागि उपाध्यायले धनगढीको सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।यस्तै, नेपाली धनगढी‐६ का डण्डीराज सुवेदीले काँग्रेसको धनगढी उपमहानगरपालिका कार्यसमिति सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको जिल्ला नेतृत्व र यहाँका नेता, कार्यकर्तासँगको सल्लाहमै आफूले सचिव पदमा उम्मेदवारी दिने सुवेदीले बताए। यस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को सभापतिका लागि नेता भीम पडालले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै, गौरीगंगा नगरपालिकाको सभापतिमा पहलबिक्रम चन्द र मोहन साउदले उम्मेदवारी घोषणा गरेका छन्।
बर्दगोरिया गाउँपालिकामा मोहनसिंह राठौरले उम्मेदवारी घोषणा गरेको प्रचारप्रसार संयोजक नृप सुनारले जानकारी दिए । यस्तै गोदावरी नगरपालिकामा पनि दुई वटा प्यानल नगर कार्यसमितिका लागि चुनाबी मैदानमा छन्। वडाहरुमा आफ्नो बलियो उपस्थिती जनाएको पूर्वजिल्ला सभापति दीर्घराज भाटको टिम र डा.लक्ष्मीराज पाठकको टिम प्यानलसहित चुनाबी मैदानमा उत्रिने तयारीमा रहेका हुन्। भाटका पक्षवाट नगरसभापतिमा विरबहादुर चोखाल र डा. पाठक पक्षवाट बिष्णु बडैलाको टिम प्यानलसहित चुनाबी मैदानमा रहेको छ। यस्तै,घोडाघोडीमा कालिराम चौधरी, लम्कीमा इन्द्र कुंवर र भक्तबहादुर चलाउनेको टिम चुनावी मैदानमा छ। कैलालीमा कार्तिक ३० गते पालिका अधिवेशन हुने छ भने मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ ।