काठमाडौँ। मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटमो सीरानमा पर्ने मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो झरेको छ । हिमपहिरोबाट बच्न भागदौड गर्ने क्रममा १ शिक्षक र ६ जना विद्यार्थी घाइते छन् ।
बस्तीमाथिको हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए । भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीका अनुसार पहिरोले बस्तीमा कुनै क्षति पुर्याएको छैन ।
हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको बताइएको छ । हिमपहिरो गएको क्षेत्रमा भने स्थानीय भीमप्रसाद थकाली र सकेन्द्र गौचनका गरी १ सय ३० वटा चौरी थिए । ती चौरीबारे यकिन जानकारी भने नआएको स्थानीयहरूले बताएका छन् ।‘त्यस क्षेत्रमा हामी दुई जनाको गोठ थियो । चौरीहरू हिमपहिरोमा परे । कति बाँचे कति मरे केही अत्तोपत्तो छैन’ थासाङ गाउँपालिका २ नाउरीकोटका चौरीपालक किसान सकेन्द्र गौचनले भने, ‘केही चौरी त पारी पाखामा देखिएका छन्। अरु चौरीबारे जानकारी आएको छैन ।’
थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले स्थानीय किसानहरू हिमपहिरोबाट प्रभावित हुनसक्ने बताएकी छन्। पहिरोबाट चौरी गोठ तथा गोठालाहरूलाई क्षति भएको आकलन गरिएको उनले बताइन् । अहिले प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली घटनाबारे बुझ्न त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।
पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घण्टा लाग्ने थासाङ गाउँपालिकाकी उपाध्यक्ष शेरचनले बताइन् । यद्यपि घटनाको थप विवरण आउन बाँकी नै रहेको उनले बताइन् । घटना बिहान साढे १० बजेदेखि ११ बजेतिर भएको थियो । पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घण्टा लाग्ने उपप्रमुख शेरचनले बताइन् । घटनाको थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिइन् । घट्ना बिहान साढे १० बजेदेखि ११ बजेतिर भएको हुनसक्ने उनले बताइन् ।भिडियोे यहाँ तल हेर्नूृहोस