काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज पनि अवरोधकैबीच सर्वोच्च अदालत प्रवेश गरेका छन्। नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेर आज पनि सर्वोच्चमा धर्ना दिएका छन्।
उनीहरुले गएको शुक्रवार पनि जबरालाई अदालत प्रवेश गर्न रोकेका थिए । तर उन अर्को गेटबाट भित्र छिरेका थिए । शुक्रवार जस्तै आज पनि प्रधानन्यायाधीश जबरा वैकल्पिक बाटो हुँदै छिरेका हुन। अदालत परिसरमा वकिलहरुले धर्ना दिइरहेका छन्। यसैबीच बारले धर्ना र प्रदर्शन गरेका बेला प्रधानन्यायाधीश जबराको समर्थनमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्वोच्च अदालतमा आज १० वटा इजलास तोकिएको छ। सर्वोच्चका अरु न्यायाधीशले बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेर्ने भने पनि आज विभिन्न प्रकारका मुद्दालाई समेटेर इजलास गठन गरिएको छ। प्रधानन्यायाधीश जबराले आज आफ्नो लागि इजलास तोकेका छैनन् ।