काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शनिबार (आज) एकैपटक देशभरबाट पार्टीको दशौं महाधिवेशनका लागि प्रतिनिधि छान्दैछ । चितवनमा हुने महाधिवेशनका लागि देशभरबाट १ हजार ९९९ प्रतिनिधि छानिन लागेका हुन् ।
एमालेका देशभर छरिएका ८ लाखभन्दा बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्न लागेका हुन् । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेले दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । नारायण नदीको किनारामा उद्घाटन र सौराहाको होटल सेभेन स्टारमा बन्द सत्र हुनेछ ।
उद्घाटनमा मात्रै पाँच लाख मानिस उतार्ने पार्टीले लक्ष्य लिएको बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा शुक्रबार भिडियो सन्देश जारी गर्दै उनले उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गरेका हुन् । उनले दलभित्रको समझदारी सुदृढ र एकताको आधार हुने पनि बताएका छन् ।
प्रतिस्पर्धामात्र नभइ उन्नत स्तरको समझदारी र सहमतिमा उनले जोड दिएका हुन् । अर्थात् सर्वसम्मततर्फ उनको जोड रहेको छ । यसअघि पनि वडा अधिवेशनदेखि नै ओलीले सर्वसम्मत रुपमा प्रतिनिधिहरु छान्न आग्रह गर्दै आएका छन् । यसबाट उनले कतै दशौं महाधिवेशनकालाई कर्मकाण्डी बनाउन खोजेका त हैनन् भन्ने प्रश्न पनि उठेको छ । पार्टीले शुक्रबार मात्रै महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको थियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना हुने व्यवस्था गरेको छ । त्यसैगरी प्रत्येक ८ सयमा १ जना प्रतिनिधिको संख्या बढ्दै जाने छ ।
त्यो संख्या २४ सयमा पुग्दा १ महिला र ३ खुला गरी ती जना निर्वाचित हुनेछन् । यसरी निर्वाचित भएर महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन हुनेछन् । यिनै प्रतिनिधिले एमालेको आगामी पाँच वर्षका लागि १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने विधानमा व्यवस्था गरिएको छ । यो विधानअनुसार हुने चितवन महाधिवेशनले केपी ओलीलाई पुनः अध्यक्ष बनाउने निश्चित छ । विशेषगरी केन्द्रीय सदस्यमा मात्रै चुनाव हुने अनुमान भइरहेको छ । तर अध्यक्षमै आफू लड्ने भनी हालका उपाध्यक्ष डा.भीमबहादुर रावलले बताएका छन् ।