धनगढी। नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन आज देखि सुरु हुने भएको छ । नेपाली काग्रेस कैलालीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएको हो ।
वडा अधिवेशनका लागि तयारी पुरा भएको नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुले जानकारी दिएका हुन्। १८ हजार २ सय ७३ कृयाशिल सदस्यता रहेको जिल्लामा २ हजार ५ सय जना अध्यक्ष, सभापती, क्षेत्रीय प्रतिनिधि लगायतका पदमा चयन गरिने नेपाली कांग्रेस कैलालीले जनाएको छ ।
नेपाली काङ्ग्रेस कैलालीका अनुसार धनगढी उपमहानगरपालिकामा ४ हजार ५ सय ३, गोदावरी नगरपालिकामा १ हजार ९ सय ९०, गौरीगङ्गा नगरपालिकामा ८ सय ८२ क्रियाशील सदस्य रहेका छन् । यस्तै, घोडाघोडी नगरपालिकामा १ हजार २ सय ७०, लम्कीचुहा नगरपालिकामा १ हजार ६ सय ७३, टीकापुर नगरपालिकामा १ हजार ५ सय ७२ जना क्रियाशील सदस्य रहेका छन् ।
भजनी नगरपालिकामा ९५२, चुरे गाउँपालिकामा ५४९, मोहन्याल गाउँपालिकामा ३९५, बर्दगोरिया गाउँपालिकामा ५११ जना क्रियाशील सदस्य रहेको नेपाली काङ्ग्रेस कैलालीले जानकारी दिएको छ । यसैगरी, जानकी गाउँपालिकामा एक हजार ५२३ जना, जोशीपुर गाउँपालिकामा ६८१ र कैलारी गाउँपालिकामा एक हजार ६३ जना क्रियाशील सदस्य रहेको जनाइएको छ । यस्तै, राप्रपा र समताबाट समायोजन भएका १३० जना क्रियाशील सदस्य रहेका छन् ।
कैलालीमा कात्तिक ३० गते पालिका अधिवेशन, मङ्सिर ३ गते प्रदेश सभा अधिवेशन, ६ गते सङ्घीय निर्वाचन क्षेत्र अधिवेशन, मङ्सिर १० गते जिल्ला अधिवेशन हुने काङ्ग्रेस कैलालीले जानकारी दिएको छ। मङ्सिर १६ र १७ गते सुदूरपश्चिम प्रदेश अधिवेशन हुने जनाइएको छ।अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटिसकेको जिल्ला सभापति नरनारायण शाह मनुले जानकारी दिए । उनले अब कुनै पनि विवाद नरहेका कारण १ सय २६ वटै वडामा शान्तिपूर्ण वातावरणमा अधिवेशन सम्पन्न हुने बताए । यो पटक ६ जना नेताले सभापति हुन चाहेको काँग्रेस जिल्ला सभापति नरनारायण शाह मनुले बताए। ’अहिलेसम्म ६ जना नेताले सभापतिको उम्मेदवार हुने इच्छा जाहेर गरेका छन्,’ उनले भने, ’ वर्तमान उपसभापति प्रकाश बम, पूर्व सभापति नारायणदत्त भट्ट, महासमिति सदस्य भीम बडुवाल, नेता खेमराज चौधरी, धनगढीका मेयर नृपबहादुर वड र गणेश देउवाले सभापतिमा उठ्ने बताएका छन्।’ सभापति शाहले भने, ‘कुनै पनि वडामा विवाद छैन’, ‘शान्तिपूर्ण र सौहार्द वातावरण अधिवेशन सफल हुने हामीले अपेक्षा गरेका छौं’ । यसअघि भदौ १८ गते हुने भनिएको वडा अधिवेसन क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै स्थगित गरिएको थियो ।


