धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गरेका छन्।
उनले बुधबार एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको समेत नीति निर्माणमा सहभागी बन्न सुदूरपश्चिम प्रदेशवासीलाई अनुरोध गरेका हुन्। ‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि जनगणनाको कार्य सुरु भएको छ। यसका लागि गणक परिचालन भएका छन्। आगामी मङ्सिर ९ गतेसम्म जनगणना हुने छ।
केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणनाको कार्य गर्दै आएको छ। विसं १९६८ देखि जनगणना सुरुआत भएको हो। देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पहिलो पटक हुन लागेको राष्ट्रिय जनगणना २०७८ ले सबै भाषा, जात, धर्म, लिङ्ग लगायतका बिविध समुदायको समानुपातिक सहभागिता पहिचान गर्ने र सोहीअनुसार सरकारी तथा गैरसरकारी निकायले अगामी नीति निर्माण गर्ने भएकाले सही तथ्याङ्क टिपाउन जरुरी रहेको मुख्यमन्त्री भट्टको भनाई छ ।‘मेरो गणना मेरो सहभागिता’ नाराकासाथ सञ्चालित यो महान अभियानलाई सफल पार्न मुख्यमन्त्री भट्टले सरकारी निकाय, सामाजिक संघसंस्था, पेशाकर्मी, ब्यवसायी आम सर्वसधारण सबैमा आग्रहसमेत गरेका छन् ।