धनगढी। नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उपाध्यक्ष भीम रावललाई जवाफ दिदै आफ्ना असन्तुष्टि पार्टी बैठकमा राख्न आग्रह गरेका छन्। एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्दै इन्चार्ज भट्टले कुनै पनि नेताका फरक मत र असन्तुष्टि सामाजिक सञ्जालमा पोख्न ठीक नहुने बताएका हुन् ।
उनले भने, आफ्ना फरक मत र असन्तुष्टि व्यक्त गर्न पार्टी कमिटी छन्,समितिहरू छन्, बैठकमा व्यक्त गर्न सकिन्छ, सामाजिक सञ्जालमा होइन । यस्ता कुरा पार्टी कमिटीका बैठकमा राख्नु ठीक हुन्छ। सामाजिक सञ्जालमा लेख्नु उचित हुँदैन, उनले भने। नेकपा खारेज भएर ब्यूँतिएको एमाले २०७५ जेठ २ मा फर्किँदा आफू सुदूरपश्चिम इन्चार्ज हुनुपर्ने मत रावलले राख्दै आएका छन्। एमाले उपाध्यक्ष रावलले मंगलवार बिहान ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका थिए । रावलले आज हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताएका थिए ।
यस्तै, पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्नसमेत गरेका थिए। उनले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि भन्दै आक्रोशसमेत पोखेका थिए । यो गुटबन्दीको नमूना हो। यो बैठक र यसका निर्णय अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सुदूरपश्चिममा लागू नहुने किनरु यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि? ’उनले भनेका थिए। रावलले एमाले ब्यूँतिएदेखि सुदूरपश्चिममा आफ्नो कमाण्ड हुनुपर्ने अडान राख्दै आएका छन्। तर एमालेले भट्टलाई त्यहाँको जिम्मेवारीमा यथावत राखेर महाधिवेशनमा जाँदैछ। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको निरन्तरता पनि भएकाले बागमती र सुदूरपश्चिम इन्चार्ज पहिलेकै कायम गर्न नसकिने अडान राख्दै आएका छन्। सुदूरपश्चिम कमिटीको बैठक एमाले कैलालीको पार्टी कार्यालयमा चलिरहदाँ जहाँ उपाध्यक्ष रावल सहभागी भएका थिएनन्। बैठकमा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सह-इन्चार्ज नारदमुनि राना, प्रदेश अध्यक्ष कर्णबहादुर थापा, नेतृ निरु पाल र सचिव राजेन्द्रसिंह रावलसहितका नेता सहभागी भएका थिए।


