धनगढी। धनगढी उपमहानगरपालिका १९ मा रहेको फुलबारी बसपार्क आजदेखी सञ्चालनमा आएको छ। गत भदौ महिनामा निर्माण सम्पन्न भएपनि स्थानीयको अवरोधका कारण उक्त बसपार्क सञ्चालनमा आउन केहि समय लागेको हो ।विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय वासिहरुको उपस्थितिमा वडा नम्बर १९ फुलवारीमा नवनिर्मित वषपार्कको सवारी साधन चालकहरुलाइ टिका लगाएर नगर प्रमुख नृप वहादुर वडले समुद्घाटन गरेका हुन् ।
धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको १७ कट्ठा जग्गामा उक्त बसपार्क निर्माण भएको उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बताए । उनले हाल ५० ओटा बस अटाउने क्षमता रहेको बताउदै, टर्मिनल भवन, पार्किङ एरिया, खानेपानी, घण्टाघर लगायतका संरचना निर्माण भएको बताए ।
सघन शहरी बिकास कार्यक्रम अन्तरगत २०७४ असार ३० सम्झौता गरि २०७८ भाद्रमा निर्माण कम्पनीले धनगढी उपमहानगरपालिकालाई उक्त बसपार्क हस्तान्तरण गरेको उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले जानकारी दिए । २ करोड ७५ लाख १५ हजारमा देव एण्ड सायर मसिना जेबी महेन्द्रनगरले उक्त बसपार्क निर्माण गरेको इन्जिनियर भट्टले बताए । बसपार्कबाट सुदूरपश्चिमका पहाडी जिल्ला लगायत काठमाडौ, पोखरा, बिराटनगर सम्म बस संचालन हुने बताइको छ ।



