काठमाडौं। नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन भएका छन् । एकीकृत समाजवादीको विदेश विभाग ११ सदस्यीय गठन गरिएको छ।
विभागको उपप्रमुखमा प्रमेश हमाल,सदस्यहरुमा डा.विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही रहेका छन् ।
यस्तै डा.वेदुराम भुसाललाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । विभागको उपप्रमुखमा प्रकाश ज्वाला रहेका छन् । यस्तै, सदस्यमा अशोक कोइराला, बलदेव चौधरी सदस्य छन्। शिक्षा विभागको प्रमुखमा गङ्गालाल तुलाधर र लक्ष्मण केसी उपप्रमुख छन्। सदस्यहरुमा कमला तुलाधर, डा चन्द्र ढकाल, डा उद्धव पोखरेल, गुणाखर गैर र सरोज खतिवडा सदस्य छन्। पार्टीले विपद् व्यवस्थापन विभाग पनि गठन गरेको छ। विभागमा नेता तुलाधर नै प्रमुख छन्। सूर्यबहादुर थापा, आयाम पाण्डे, डा.राजु थापा र विष्णु तिमिल्सना रहेका छन् ।
गोविन्द कोइराला प्रमुख रहेको सहकारी विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा टेकप्रसाद चौलागाईं छन् । सदस्यहरुमा नवराज अर्याल, माधवप्रसाद जिसी, ओमप्रताप राणा, देवराज न्यौपाने र किरण मोक्तान छन्। बुधबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकबारे आज जानकारी दिँदै नेकपा एकिकृत समाजवादीले वर्तमान सरकारका कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने निणर्य गरेको छ । पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति र निर्देशन अनुसार प्रभावकारी काम गर्ने, मन्त्री तथा मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति गर्दा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निणर्य गरेर मात्रै गर्नुुपर्नेमा जोड दिइएको छ ।
पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न महासचिव डा वेदुराम भुसालको संयोजकत्वमा उपमहासचिव डा तुलाधर र डा विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली समेत गठन गरिएको छ । यही कात्तिक २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । उकिकृत समाजवादीको बैठकले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्याएको क्षतिको मर्मत कार्य छिटोभन्दा छिटो सम्पन्न गरी काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति गर्न सरकारलाई आग्रह समेत गरेको छ ।