काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका नेताहरूलाई हिमालको विशिष्ट जलवायु जोखिम पहिचान गर्न र जलवायु सम्बन्धी सबै वार्ताहरूमा हिमालयको एजेन्डालाई उच्च प्राथमिकता दिन आग्रह गरेका छन् ।
यूकेको ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप २६ मा विश्व नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन्। उनले जलवायुजन्य प्रकोपको कारण बढ्दो हानि नोक्सानी प्रमुख चिन्ताको विषय भएकोमा जोड दिँदै यसलाई वार्ताको एकमात्र एजेन्डा बनाउन र यसका लागि थप वित्तीय सहयोगको रूपरेखामा सहमत हुन आह्वान गरे ।
प्रधानमन्त्री देउवाले कोप २६ ले वित्तीय, प्राविधिक र क्षमता अभिवृद्धिका स्रोतहरू बढाएर उच्च जोखिमयुक्त देशहरूलाई अनुकूलनका लागि पर्याप्त सहयोग सुनिश्चित गर्नैपर्ने बताए। प्रधानमन्त्री देउवाले पेरिस सम्झौता कार्यान्वयन गर्न दृढ रूपमा प्रतिवद्ध रहेको र यसको प्रमाण नेपालले अर्थतन्त्रको सबै क्षेत्रमा कार्बनमुक्त गर्ने महत्वकांक्षी एनडीसी (नेशनल्ली डिटरमाइन्ड कन्ट्रिब्युसन) योजना पेश गरेको बताए।
उनले नेपालले सन् २०४५ सम्म नेट जिरो उत्सर्जनको लक्ष्य भेट्ने बताए। उनले सन् २०२५ अघि जलवायु वित्तसम्बन्धी नयाँ सामुहिक, परिमाणबद्ध र महत्वकांक्षी लक्ष्यका लागि स्पष्ट रोडम्याप ९खाका०मा सहमत हुन पनि पक्षहरूलाई आग्रह गरे । प्रधानमन्त्री देउवाले प्रचुर मात्रामा जल, जंगल र जैविक विविधताका स्रोतहरू भएकाले स्वच्छ, हरित र प्रकृति आधारित जलवायु समाधानको बाँडफाँडमा नेपाल यस क्षेत्रकै नेता बन्न सक्ने बताए ।