सुर्खेत। कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमवार) पदमुक्त हुँदै छन् । प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महीनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार तीनै जनाको पदावधि आजदेखि सकिंदैछ।
सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा आज स्वतः पदमुक्त हुन लागेका हुन् । तिनै जना मन्त्री सरकारमा जानुअघि नेकपा (एमाले_का सांसद हुन्।
पार्टीको निर्देशनविपरीत गत वैशाख ३ गते ‘फ्लो क्रस’ गरेर माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिए। त्यसलगत्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ४ गते तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । पछि एमालेले कारबाही गरेपछि उनीहरूले सांसद पद गुमाए।
प्रदेशसभा सदस्य पद गुमाएका तीनै जनाले वैशाख १५ गते पुनः गैरसांसदको हैसियतमा शपथ ग्रहण गरेका थिए । उनीहरू तीनै जना हाल नेकपा (एकीकृत समाजवादी)पार्टीमा छन्। मन्त्री थापा नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिने समयमा ‘फ्लोर क्रस’ गरेका अर्का नेता प्रकाश ज्वाला भने अहिले नेकपा (एकीकृत समाजवादी) को प्रदेश इञ्चार्ज तथा केन्द्रीय उप-महासचिवको जिम्मेवारीमा छन् ।
तीन मन्त्रालय नछोड्ने एकीकृत समाजवादीको निर्णय
कर्णालीमा मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिमण्डल छ । तीन मन्त्री स्वतः पदमुक्त भएपछि केही दिनभित्रमै मन्त्रिपरिषद् पनर्गठन हुनेछ । आफ्नो पार्टीका तीन मन्त्री पदमुक्त भएसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन जनालाई पठाउने एकीकृत समाजवादी कर्णाली प्रदेशले निर्णय गरेको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो ।
‘आज (सोमवार) कानूनत उहाँहरू (तीनजना मन्त्री) सरकारबाट बाहिरिनुहुन्छ । र, हाम्रो पार्टीले तीनवटा मन्त्रालय नछाड्ने निर्णय गरिसकेको छ,’ सांसद देवी ओलीले भनिन्, ‘कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने त कुरा फाइनल भएको छैन् ।’ तीन जना मन्त्री पदमुक्त भएपछि उक्त ठाउँमा कसलाई ल्याउने हो भन्ने बारेमा छलफल भइरहेको छ । प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका तीन जना मात्र सांसद छन् ।
सम्भवत उनीहरूलाई नै मन्त्री बनाउने चर्चा पनि छ । आइतबार यसबारे छलफल गर्न बसेको एकीकृत समाजवादी पार्टीको बैठकमा तीन जना प्रदेशसभा सदस्यलाई नै सरकारमा पठाउनेबारे छलफल चलेको बताइन्छ । आफ्नै पार्टीका सांसद चन्द्रबहादुर शाहीको नेतृत्वमा देवी ओली र पदमबहादुर रोकायालाई सरकारमा पठाउनेबारे छलफल भएको बैठकमा सहभागी सांसद ओलीले बताइन् ।
कात्तिक १५ गते नै मुख्यमन्त्रीसमेत फेरबदल हुने कुराले पनि प्रदेशको राजनीति तरङ्गति छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको आधारमा कात्तिक १५ पछि मुख्यमन्त्री शाहीले सत्ता छाड्नुपर्ने कांग्रेसको तर्क छ। कांग्रेस नेता शाही कात्तिक १५ पछि आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने तर्क गरिरहेका छन् । यद्यपि यसबारे केन्द्रीय गठबन्धनले निर्णय गर्ने माओवादी केन्द्रका नेताहरूको भनाइ छ । केन्द्रीय गठबन्धनले भने कर्णाली प्रदेश सरकारको नेतृत्वका बारेमा ठोस निर्णय भने गरिसकेको छैन ।


