धनगढी। नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको ठूलो दल एकीकृत समाजवादीको आइतबार बसेको प्रदेश कमिटीको बैठकले प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो ।
धनगढीमा सम्पन्न प्रदेश कमिटी बैठकले प्रदेश सरकारको नेतृत्वका लागि केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । ‘हाम्रो पार्टीको प्रदेश कमिटी बैठकले प्रदेश सरकारमा दावी पेस गर्न केन्द्रमा अनुरोध गर्ने निर्णय गरेको छ,’ एक नेताले भने ।प्रदेश कमिटीका सचिव दिनेशचन्द्र सुवेदीले प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।
औपचारिक निर्णय भए/नभएकोबारे पुुष्टि नगरेपनि उनले पत्रकार सम्मेलन गरेर विस्तृतमा सबै कुरा जानकारी दिइने बताए । एकीकृत समाजवादी पार्टीको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अहिले नेकपा माओवादी केन्द्रले गरिरहेको छ । ५२ सदस्यीय प्रदेशसभामा १४ सांसदसहित एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल छ । प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका सभामुखसहित ११, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद छन् ।


