कञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना भएकी वेदकोट नगरपालिका-९ की २४ वर्षीया भागरथी साउद धामीको मृत्यु भएको हो।
बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बगेपछि उनको मृत्य भएको महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार अक्सिजनको मात्रा कम भएपछि शनिबार बिहान १ बजे सुत्केरीको मृत्यु भएको हो।
मृतकका आफन्तले महाकाली अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । घटनाको छानविन गर्न धामीका आफन्तले आग्रह गरेका छन् । अहिले पीडित पक्ष र महाकाली अस्पताल प्रशासनबीच छलफल भइरहेको छ । महाकाली अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बच्चाको स्वास्थ्य अवस्था भने समान्य रहेको अस्पतालले जनाएको छ ।