कञ्चनपुर। कञ्चनपुरमा दुई महिनाको अवधिमा ६ सय कुपोषित बालबालिका भेटिएका छन् । जिल्ल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले स्थानीय तह र सरोकारवाला निकायसंगको सहकार्यमा अभियान सञ्चालन गरी कुपोषित बालबालिकाको खोजी गरेको छ ।
चालु आर्थिक वर्षको सुरुवातसंगै आगामी दिनमा निरन्तरता दिने लक्ष्य सहित सुरु गरिएको साउन र भदौमा सञ्चालन गरिएको छ । दुई महिने अभियानमा कञ्चनपुरमा ६ सय २ जना कुपोषित बालबालिका भेटिएका हुन्। त्यसमा कडा खाल ९५ जनामा कडा खालको कुपोषण र ५ सय ७ मा मध्यम खालको कुपोषण देखिएको छ ।
जिल्लाभर सबैभन्दा बढी कुपोषण देखिने बालबालिका बेलडाँडी गाउँपालिकामा सबैभन्दा बढी १ सय २ जना छन् । कुपोषणका लागि बहिरङ्ग सेवा(ओटीसी)सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले कुपोषित बालबालिका खोजी गरेका छन् । त्यसमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई समेटिएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कोरोना महामारी संक्रमणले बालबालिकामा कुपोषणको समस्या परेपछि अभियान सञ्चालन गरी कुपोषित बालबालिकाको खोजी गरिएको बताए । ‘कोभिड महामारीले अप्ठेरो थियो, अझै पनि छ, कोभिडको असर बालबालिकामा पनि प¥यो, त्यसैले नयाँ वर्षसंगै यो अभियान सञ्चालन गरियो’ उनले भने,‘त्यसका लागि स्वःस्फूर्त रुपमा स्वास्थ्यकर्मीले टोल टोलमा गएर बालबालिका खोजेका छन् ।’
उनले अभियानबाट पत्ता लागेका बालबालिकालाई उपचारका लागि प्रक्रिया अघि बढाइने उनले बताए । ‘कुपोषित भएपछि बालबालिकाको शारीरिक, मानसिक विकास हुन सक्दैन, त्यसले प्रगति नै रोकिन्छ’ उनले भने,‘अब अभियानमा पत्ता लागेका बालबालिकालाई उपचारको दायरामा ल्याउँछौ, त्यसले उनीहरुको कुपोषणको समस्या हल हुन्छ ।’ दुई महिनासम्म स्वास्थ्यकर्मीले बालबालिकाको पाखुरा जाँच गरी कुपोषणको समस्या भए नभएको पत्ता लगाएका छन् । सबै स्थानीय तह मातहतका स्वास्थ्य संस्था र महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्र्थापन गृहमा कुपोषित बालबालिका खोजिएका छन् ।
स्वास्थ्यकर्मीहरुका अनुसार कडा खालको कुपोषणमा बालबालिकाका पछाडिको भाग झोला जस्तो हुने, कपाल खुइलिने, भुँडी ठूलो हुने, ख्याउटे हुने, सुकेको जस्तो देखिने र तौल कम हुने गरेको छ । मध्यम खालको कुपोषण भएका बालबालिकामा उमेर अनुसार तौल कम हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन कपिलदेव जोशीले धनी गरीब सबै परिवारका बालबालिकामा कुपोषणको समस्या देखिएको बताए । ‘यसमा धनी, गरीब सबै परिवारका बालबालिका कुुपोषण देखिएको छ, गरीब परिवारमा पोषणयुक्त खाना नपाएर कुपोषित हुन्छन् भने धनी परिवार पोषण युक्त खाना बढी खाएर पनि हुन सक्छन्’ उनले भने,‘समग्रमा सन्तुलिन भोजनको व्यवस्थापन नहुँदा नै यो समस्या देखिन्छ ।’
बालबालिकालाई न्यून पोषण भएमा ख्याउटे, पुड्को र उमेर अनुसार तौल नहुने तथा अधिक पोषण भएमा मोटापन हुने गरेको जोशीले बताए । पोषण सुधार हुँदै गएपछि पछिल्लो केही वर्षदेखि बाल मृत्युदर घट्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार नेपालमा २७ प्रतिशत बालबालिका ख्याउटे र १० प्रतिशत कम तौलका छन् । सुदूरपश्चिम प्रदेशमा ३५ प्रतिशत बालबालिकामा पुड्कोपना छ । बालबालिकामा कुपोषण समस्या हटाउन डेढ दशकदेखि स्वास्थ्य संस्थामा ओटिसी सेवा सञ्चालनमा छ । ओटिसी सेवा सञ्चालन गरिएका सबै संस्थामा पोषण फोकल पर्सन राखिएका छन् । उनीहरुले कुपोषित बालबालिकाको खोजी गरी उपचार गर्दै आएका छन् । अहिले कञ्चनपुरका दुई दर्जन स्वास्थ्य संस्थामा ओटिसी सेवा सञ्चालनमा छ । कञ्चनपुरको सबैभन्दा ठूलो भीमदत्त नगरपालिकामा जिमुवा स्वास्थ्य चौकी र वसन्तपुर सहरी स्वास्थ्य केन्द्रमा मात्रै ओटिसी सेवा सञ्चालनमा छ । यस सेवा अन्र्तगत कुपोषित बालबालिकालाई तयार गरिएको उपचारात्मक खाना (आरयुटिएफ)खुवाउने गरिन्छ ।
स्वास्थ्य कार्यालयका प्रमुख सुनारले भीमदत्तका ओटिसी सेवा थप गर्नका लागि नगरपालिकासित छलफल गरिएको बताए । ‘भीनपा ठूलो छ, यहाँ अब दुई तीन ठाउँमा यो सेवा थप गर्नका लागि छलफल गरिएक्को छ’ उनले भने । महाकाली प्रादेशिक अस्पतालमा १६ वर्षदेखि पोषण पुनस्र्थापन गृह सञ्चालन हुँदै आएको छ । पोषण पुनस्र्थापन गृहका प्रमुख इन्द्रा भट्टले हालसम्म एक हजार ९ सय ८७ बालबालिकालाई उचार गरी घर पठाएको बताइन् । ‘यसमा ५/७ जना बाहेक सबै कञ्चनपुरका हुन्, उपचार गरी सबैलाई घर पठाएका छौ’ उनले भनिन् । स्वास्थ्य संस्थाबाट ओटिसी सेवा नपाएका बालबालिकालाई ३५ दिनसम्म गृहमा राखेर उपचार हुँदै आएको छ । गृहमा बालबालिका र आमालाई राख्ने गरिएको छ ।पोषण गृहमा कडा खालको कुपोषण भएका बालबालिकालाई मात्रै राख्ने गरिएको छ । अहिले गृहमा १० बालबालिका छन् । पोषण पुनस्र्थापन गृहले बालबालिकाका लागि बाल रोग विशेषज्ञ पनि राखिएका छन् । भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले स्वास्थ्य संस्थामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा कामकाज गर्न समस्या आएको बताए । ‘दरबन्दी अनुसारको कर्मचारी छैन, त्यहाँ ओटिसी हेर्ने की अरु काम गर्ने, समस्या छ’ उनले भने ।