कञ्चनपुर । चाडपर्व नजिकिँदै गर्दा भारतबाट घर फर्किने नेपालीको चाप बढ्न थालेको छ । कञ्चनपुरको गड्डाचौकी नाकामा दुई सातायता घर फर्किनेको चाप बढेको हो ।
अहिले दैनिक छ/सात सयको संख्यामा नेपालीहरू घर फर्किरहेका छन् । केही दिनयता घर फर्किनेहरूमा कोरोना संक्रमण पनि देखिन थालेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार गड्डाचौकी नाकाबाट घर फर्किने ६ सय २१ जना मध्ये ६ सय ८ को एन्टिजेन परीक्षण हुँदा ३ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार घर फर्किने ५सय ५८ मध्ये ५ सय ८ को परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लोर् एक सातामा १७ जनामा संक्रमण पुष्टि भएको छ ।
असार अन्तिमसम्म भारतबाट घर फर्किनेमा दिनहॅु संक्रमण देखिएपनि त्यसयता कम भएको थियो । साउन र भदौ तेस्रो सातासम्म कहिलेकाहीँ मात्रै दिनमा एक/दुई जनामा संक्रमण पुष्टि हुने गरेको थियो । तर एक सातादेखि दिनहु तीन/चार जनामा संक्रमण पुष्टि भइरहेको छ । यसैगरी गौरीफन्टा नाकाबाट बुधबार ७ सय २७ जना घर फर्किएका छन् । मंगलबार १ हजार ९४ जना र सोमबार ७ सय ६९ जना नेपाल भित्रिएको प्रशासनले जनाएको छ । गौरीफन्टा नाकामा भने संक्रमितको संख्या कम देखिएको छ । सोमबार १ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसयता मंगलबार र बुधबार संक्रमित नभेटिएको प्रशासनले जनाएको छ ।
‘घर फर्किनेको चाप बढेसँगै संक्रमण पुष्टि हुने पनि बढेका छन्,’ सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकी नाकामा स्थापना गरेको हेल्प डेस्कका कर्मचारी दानसिंह बोहराले भने, ‘अहिले जानेने भन्दा भारतबाट आउने दोब्बर तेब्बर छन् ।’ उनका अनुसार अहिले कामको खोजीमा जानेको संख्या दुई/अढाई सय छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार बुधबार गड्डाचौकी नाकाबाट भारततर्फ जानेको संख्या ३ सय छ । यसैगरी गौरीफन्टा नाकाबाट पनि ३ सय नै भारततर्फ पसेका छन् । ग्रामीण भेगमा चाडपर्वको माहोल तात्दै गएको छ । खेतीपातीको काम पनि आइसकेको छ । कामको खोजीमा विदेशिएकाहरू यतिबेला खेतीपाती भित्र्याउनुका साथै चाडपर्व मनाउन घर फर्किन लागेका हुन् ।
‘खेतीपातीको काम पनि आयो, दसैं पनि नजिकिन थाल्यो,’ सोमबार गड्डाचौकी नाकाबाट घर फर्किन लागेका बेदकोट नगरपालिकाका लाल सार्कीले भने, ‘अब दसैंतिहार मनाएर गहॅु छरेर फर्किन्छौं ।’ उनी चन्दीगढमा घरेलु कामदारका रूपमा काम गर्छन् । भारतबाट घर फर्किनेको चाप बढेसँगै सीमावर्ती क्षेत्रमा यातायातका साधनहरूमा चर्को भाडा लिने तथा यात्रुलाई नशालु पदार्थ खुवाएर बेहोस बनाएर लुटपाट गर्ने लगायतका घटना हुन थालेका छन् ।
सोमबार मात्रै अल्मोडाबाट घर फर्किनेहरूलाई सीमावर्ती बजार बनबासामा नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटिएको छ । उनीहरूलाई महाकाली अस्पतालमा उपचारपछि घर पठाइएको छ । ‘बनबासाबाट गड्डाचौकीसम्मको भाडा पनि निकै महँगो छ,’ गड्डाचौकीका स्थानीय किसन जोशीले भने, ‘पाँचरछ किलोमिटर दूरीको भाडा एक सय भारु छ ।’ कोरोना संक्रमण अघिसम्म यहाँको भाडा २५/३० रुपैयाँ थियो । कोरोना संक्रमणसँगै नाका बन्द भएपछि सवारी साधन आवागमन घटेर भाडा पनि बढेको हो । दसैंतिहारका बेला घर फर्किनेहरूको चाप बढ्दा यात्रुहरूबाट दोब्बर तेब्बर भाडा लिने क्रम बढ्न सक्ने भएकाले यसतर्फ सजग हुनुपर्ने देखिन्छ । त्यतिबेला नशालु पदार्थ खुवाएर लुटिने घटनाहरू हुन नदिनसमेत दुवैतर्फका सुरक्षाकर्मीबीच समन्वय आवश्यक रहेको स्थानीय बताउँछन् ।