धनगढी। कैलालीको गौरीगंगा नगरपालिकामा पाँच दलीय गठबन्धनद्धारा तालाबन्दी गरिएको छ।
गठबन्धनले नगरपालिकासंग ६ बुँदे माग राखेकोमा माग सम्बोधन गर्न नगरपालिकाले चासो नदेखाएको भन्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले सोमबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो।
उनीहरुले अनियमित तरिकाले रोयल्टी संकलन गरेको, आवश्यकता भन्दा बढी करारमा राखिएका कर्मचारीलाई हटाउनुपर्ने लगायतका गठबन्धनका मागहरु छन्। माग सम्बोधन नभएसम्म ताला नखोल्ने नगरपालिकालाई उनीहरुले चेतावनी दिएका छन्। गत भदौ ५ गते पाँचवटै दलले संयुक्त गठबन्धनकातर्फबाट ज्ञापनपत्र बुझाउँदै ६ बुँदे माग अघि सारेका थिए।
जसमा नगर शिक्षक कार्यविधि संशोधन गर्नुपर्ने, करार कर्मचारीको हकमा समिति बनाएर आवश्यकताभन्दा बढी कर्मचारीलाई हटाउनुपर्ने, रोयल्टीको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने, विद्यालयको आवश्यकताअनुसार विद्यालय व्यवस्थापन समितिको विषय शिक्षकको दरबन्दी कायम गर्नुपर्ने, लामो समयदेखि निजी स्रोतमा काम गर्दै आएका शिक्षकहरुलाई प्रक्रिया मिलाएर नियुक्त गर्नुपर्ने र नगरपालिकाको बेरुजु फर्छ्यौट गर्नुपर्ने माग पत्रमा उल्लेख गरेको थियो।