धनगढी। सुदूरपश्चिम प्रदेशमा परम्परागत रूपमा मनाइने मौलिक चाड ‘वल्के’ आज हर्षोल्लासपूर्वक मनाइँदै छ । हरेक वर्ष भदौ १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ ।
यो पर्वमा आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने गरिन्छ । यसैगरी विवाहिता छोरीलाई माइतीघरमा ल्याई लाउन (सेल), बावर(पुरी), माणा, निसौसे, डुब्कालगायतका स्थानीय खानाका मीठामीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।
बर्सादको मौसममा खेतबारीमा कामगर्दा हात र खुट्टामा देखिने छाला सम्बन्धी रोगको सङ्क्रमणबाट बच्न भन्दै भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाउने गरिन्छ । यस्तै ओल्के सङ्क्रान्तिका दिन गाउँ उच्चो टाकुरामा सबै मिलेर रूखका हाङ्गाबिङ्गा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ।
यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ ।यो बूढीलाई असोज सङ्क्रान्तिका साँझ प्रत्येक घरघरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ।
यसरी भँगेरी फूलको लेदोबाट हत्केला र खुट्टाको औँलामा लगाउदा छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहि आएको छ । कोभिड(१९ को जोखिम कायम रहेकाले भिडभाड नगरी पर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।