बैतडी। बैतडीको पाटन नगरपालिका ९ को वडा कार्यालयमा मजदुरहरुले तालाबन्दी गरेका छन्।
प्रधानमन्त्री रोजगार कार्यक्रममा पैसा नपाएको भन्दै कामदार तथा मजदुरहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन। नगरपालिकाबाट भुक्तानी भएको रकम समेत आफूहरुलाई नदिएको भन्दै मजदुरहरुले तालाबन्दी गरिएको जनाइएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गरेको पैसा नपाएपछि आफूहरुले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय कर्णबहादुर बिष्टले जानकारी दिए । । उनले भने ‘हामीलाई काम गर्ने बेला काम गराइएपनी अहिलेसम्म भुक्तानी भईसकेको छैन् । रकम समेत दिन आनाकानी गरिएको छ, उनले भने ।’
वडा नं ९ मा प्रधानमन्त्री रोजगार अन्तर्गत वडा कार्यालयकै रहोवरमा २९५ जनालाई रोजगारी दिइएको कार्यवाहक वडा अध्यक्ष इन्द्रबहादुर बोहराले जानकारी दिए । नगरपालिकाबाटै ४ लाख ७२ हजार कम भुक्तानी भएकाले रकम वितरणमा समस्या छ, उनले भने ।’तर कामदारहरुले भने तोकिएको ज्याला पाउनुपर्ने र भुक्तानी भएको रकम वितरण हुनुपर्ने माग गर्दै तालाबन्दी गरेको जनाएका छन् ।
पाटन नगरपालिकाका विभिन्न वडाहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अनियमितता भएपछि रोजगार शाखामा कार्यरत प्राविधिकको करार सेवा समेत रद्ध गरिएको थियो । नगरपालिकाका रोजगार संयोजक महेश पन्तले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरेको कामको पुनर्मूल्यांकनका लागि जिल्ला समन्वय समितिले प्राविधि पठाउने भनेको भएपनि अहिले सम्म नपठाएको बताए ।

