काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाटमा भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले दार्चुला घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने र मृतकका आफन्तलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । सांसद विमला नेपालीले भनिन् “दार्चुला जिल्लाको महाकाली नदी तर्ने क्रममा तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराउन चाहान्छु, घटनाबारे सत्यतथ्य छनबिन गर्न समेत माग गर्दछु ।” यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको बताइएको छ।
यस्तै,सांसद भूमिप्रसाद त्रिपाठीले दार्चुला घटना अमानवीय घटना भएको जनाउँदै कारवाहीको माग गरे । सांसद महेश्वर गहतराजले दार्चुलामा भारतीय सेनाद्वारा गरिएको अमानवीय व्यवहारको विरोध गरेका थिए। यस्तै,सांसद मोहन बानियाँले जयसिंह धामीलाई महाकाली नदीमा खसालिएको घटनाको घोर भर्त्सना गरे । उनले घटनाबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने पनि माग गरे । सांसद राजेन्द्रप्रसाद गौतमले दार्चुलामा तुइन काटेर नदीका खसाल्नु अन्तर्राष्टिय फौजदारी अपराध भएको बताए । यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका छन् । घटनाबारे छानबिन गर्न माग गरीएको छ ।


