कञ्चनपुर। महाकाली नदीको बिच टापुमा फसेका तीन नेपाली नागरिकलाई नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको छ । भीमदत्त नगरपालिकाका १० का २४ बर्षिय राजेन्द्र टमाटा, २० बर्षिय राम टमाटा र २८ बर्षिय परमा तिरुवालाई उद्धार गरेको हो । बिहीबार दिउसो महाकाली किनारमा चर्न गएका भैसी घर नफर्के पछि उनिहरु शुक्रवार दिउसो १ बजे भैसी खोज्न नदीमा पसेका थिए ।
दिउसो १२ बजे घरबाट गएका उनिहरु चम्पावत जिल्ला भित्र पर्नै महाकाली नदीको कालीझाला टापुमा फसेका थिए । दिउसो पानीको बहाव एक्कासी बढेपछि उनिहरु त्यही अडकिएका हुन । कालीझाला टापुमा भैसी प्राय चर्न जाने हुनाले उनिहरु खोज्दै त्यहा पुगेका थिए । कालीझाला टापु शारदा ब्यारेज (बनबासा पुल)देखि ३ किलोमिटर उत्तर तर्फ भारतीय क्षेत्र मा पर्छ । दिउसो ३ बजे तिर भैसी घर आफै आएपनी उनिहरु फकिएन । पानीको बहाव कम नभएपछि राजेन्द्र टमाटाले आफुहरु टापुमा फसेको मोबाइल मार्फत आफन्तीलाई जानकारी गराएका थिए ।
बेलुका ५ः३० बजे टमाटाका बुबा बहादुर टमाटाले इलाका प्रहरी कार्यालय गड्डाचौकीलाई जानकारी गराएका थिए । सुचना पाएलगत्तै भारतीय प्रहरीको समन्वयमा उनिहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले बताए । उनिहरुलाई राति ११ः३० बजे इलाका प्रहरी कार्यालय गड्डाचौकीमा ल्याएर आफन्तीको जिम्मा लगाईएको थापाको भनाई छ । चम्पावत जिल्लाका जल प्रहरी प्रताप कडियाको नेतृत्वमा गएको टोली उनिहरुलाई राती ८ बजे रातको समयमा उद्धारका लागि महाकाली नदीमा पसेको थियो।
नेपाल प्रहरीले खबर गरे लगत्तै उद्धार कार्यमा खटिएको प्रताप कडियाले बताए । उनिहरुलाई उद्धार गर्न करिब डेढ घण्टा लागेको थियो । राति उनिहरुलाई उद्धार नगरेको भए मानविय क्षति हुने थियो । राति १२ बजे देखि महाकाली नदीमा बढेको बहाव कम भएको छैन । नदीमा पानीको बहाव २ लाख क्युसेक पार गरेको छ ।

