धनगढी: वर्षौंदेखि योजना, घोषणा र प्रतीक्षामा सीमित रहेको कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । रंगशाला निर्माणका लागि सरकारले बहुवर्षीय ठेक्का आह्वान गरेसँगै सुदूरपश्चिमवासीको लामो समयदेखिको सपना साकार हुने बाटो खुलेको छ । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजनाअन्तर्गत रंगशाला निर्माणका लागि बोलपत्र आह्वान गरिएको हो । सहरी विकास तथा भवन निर्माण कार्यालय, धनगढी, कैलालीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सार्वजनिक खरिद प्रणालीमार्फत ठेक्का प्रक्रिया अघि बढाएको छ ।
ठेक्का आह्वानसँगै अब फाप्लामा निर्माणको प्रारम्भिक काम सुरु हुने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार पहिलो चरणमा मैदानको हालको जमिनको सतहमा माटो भर्ने, जमिन सम्याउने र प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्नेलगायतका काम गरिनेछ । मन्त्री लम्सालले फाप्ला रंगशाला सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्त्व बोकेको आयोजना भएकाले सरकारले उच्च प्राथमिकताका साथ अघि बढाएको बताएका छन् ।
‘सुदूरपश्चिम प्रदेशको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएका छौँ । यस ठेक्काअन्तर्गत मैदान निर्माणका लागि हालको जमिनको सतहबाट माटो भर्ने तथा जमिन सम्याउने, प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्नेलगायतका काम सुरु हुनेछन्,’ उनले भनेका छन् । रंगशाला निर्माणले खेल पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धन र समग्र आर्थिक विकासमा समेत योगदान पुर्याउने सरकारको अपेक्षा छ । धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनारको बोराडाँडी क्षेत्रमा साढे ३८ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित खेलग्राम निर्माण गर्ने सरकारको योजना छ ।
क्रिकेट अभियन्ता सुवास शाहीको अगुवाइमा एसपीए कप, धनगढी क्रिकेट लिग र धनगढी प्रिमियर लिगजस्ता प्रतियोगिता सञ्चालन हुन थालेपछि धनगढीमा क्रिकेटको लोकप्रियता बढ्दै गएको थियो । २०७१ सालमा अस्थायी क्रिकेट मैदानका रूपमा फाप्लाको पहिचान गरिएको थियो । त्यसको एक वर्षपछि २०७२ सालदेखि फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका रूपमा विकास गर्ने लक्ष्यसहित ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो ।
आर्थिक वर्ष २०७२/७३ को संघीय बजेटमा समेत फाप्ला रंगशाला निर्माणको विषय समेटिएको थियो । तर, जग्गा प्राप्ति हुन नसक्दा आयोजना अघि बढ्न सकेन । िबजेट र घोषणामा समेटिए पनि आवश्यक प्रक्रिया पूरा नहुँदा फाप्ला निर्माणको प्रतीक्षा लम्बिँदै गएको थियो । २४ माघ २०७८ माग बसेको मन्त्रिपरिषद् बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्दै आयोजना कार्यान्वयनका लागि विकास समिति गठन गर्ने निर्णय गरेको थियो ।
त्यसपछि २६ वैशाख २०७९ मा नेपाल राजपत्रमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति गठन आदेश प्रकाशित भयो । सोही वर्ष आयोजनाका लागि जग्गा प्राप्ति भएको थियो । २३ जेठ २०७९ मा सरकारले फाप्ला निर्माण अभियानका नेतृत्वकर्ता सुवास शाहीलाई विकास समितिको अध्यक्षमा मनोनीत गरेको थियो । त्यसपछि आयोजना कार्यान्वयनका विभिन्न प्रक्रिया अघि बढ्दै आएका थिए ।
ठेक्का आह्वान भएपछि शाहीले यसलाई वर्षौंदेखिको सपना, संघर्ष र धैर्यको ऐतिहासिक उपलब्धि भनेका छन् । उनका अनुसार यो उपलब्धि कुनै व्यक्ति वा समूहको मात्र नभई फाप्लालाई आफ्नो मुटुको टुक्रा ठान्ने सबै नेपालीको साझा विजय हो ।


