डडेल्धुरा: तिहारको उल्लासमा घरआँगन सजिनुपर्ने बेला अजयमेरु गाउँपालिका–१ खतेडा गाउँ शोकमा डुबेको छ । भाइटीकाका लागि दिदीले फूलमाला उन्दै भाइको प्रतीक्षामा बसेकी थिइन् । तर, घरको आँगनमा आइपुग्यो भाइको शव । आगामी कार्तिक २५ गते मंगलबार भाइटीका छ । दिदी सकुन्तला भण्डारीले तिहारमा भाइलाई लगाइदिन डडेल्धुरा सदरमुकामबाट खतेडास्थित घर पुगेर फूलमाला उनेकी थिइन् । भाइ लोकेश भण्डारीले पनि काठमाडौँबाट घर फर्किन लागेको खबर दिएका थिए ।
तर, दिदीले उनेको फूलमाला भाइको गलामा लगाउन पाइनन् । घर फर्किने क्रममा रहेका ३४ वर्षीय लोकेशको दुई दिनअघि नयाँ खरिद गरेको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भयो । नेपाली सेनामा कार्यरत लोकेशको शव कार्तिक २४ गते घरको आँगनमा पुग्यो । जुन आँगनमा भाइको स्वागतका लागि फूलमाला तयार पारिएको थियो, त्यही आँगनमा भाइको पार्थिव शरीर आइपुग्दा परिवार र गाउँले भावविह्वल बने ।
लोकेशको असामयिक निधनले परिवारको एउटा सदस्य मात्र गुमेको छैन, वृद्ध आमा–बुवाको मुख्य सहारा पनि गुमेको छ । उनकी सानी छोरीले कलिलै उमेरमा बुबाको साथ गुमाएकी छन् । दिदीले भाइटीकाका लागि उनेको माला यसपालि भाइको गलामा सजिन पाएन । तिहारको खुसी र प्रतीक्षाले भरिएको घर अहिले शोकमा डुबेको छ । कार्तिक २४ गते नै लोकेशको अन्त्येष्टि गरिएको छ ।
यसैबीच, शोकमा रहेको भण्डारी परिवारलाई आर्थिक सहयोग जुटाउन स्थानीय तथा नेपाल सरकारका अधिकृत घिरेन्द्र सिंह भण्डारीले सहयोग अभियान सुरु गरेका छन् । उनले असामयिक निधनबाट पीडामा परेको परिवारलाई राहत पुर्याउन सबै सहयोगी मनहरूलाई आर्थिक सहयोगका लागि अपिल गरेका छन् । एउटा दुर्घटनाले लोकेशको जीवन मात्र खोसेन, दिदीको भाइटीकाको सपना, आमाबुवाको सहारा र छोरीको भविष्यसँग जोडिएको अभिभावकीय साथसमेत खोसेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ त ३६३३ नंको ट्र्याक्टरले ठक्कर दिएको थियो। ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका–१ का २४ वर्षीय लोकेश भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


