धनगढीः आइतबार साँझ कैलालीको धनगढी पारीको सीमावर्ती बजार वनगाउँमा आगलागी भयो। भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लाको वनगाउँ बजारमा साँझ ६ः३० बजे आगलागी भएको खबर धनगढी उपमहानगरपालिकाले पायो। उक्त जानकारी प्राप्त भएपछि नगर प्रहरी र दमकल टोली तीनवटा दमकल तथा एउटा ब्याकलोडरसहित घटनास्थल पुगेको थियो।
आगलागी नियन्त्रणका क्रममा तीनवटै दमकलले तीन–तीन पटक पानी भरेर आगो निभाउने काम गरेका थिए। नगर प्रमुख गोपाल हमालको सचिवालयले दिएको जानकारीअनुसार ब्याकलोडर प्रयोग गरी फायर लाइन निर्माण गरेर आगो थप फैलिन नदिने प्रयास गरिएको थियो। राति १२ः३० बजे आगलागी पूर्णरूपमा नियन्त्रणमा आएपछि दमकल टोली धनगढी उपमहानगरपालिकाको कार्यालय फर्किएको थियो।
यसैबीच, धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित एउटा वर्कसपमा पनि हिजो राति आगलागी भएको थियो। वनगाउँ बजारमा आगो नियन्त्रणमा खटिएका धनगढीका दमकल राजपुरमा तत्काल पुग्न सकेनन्। भारतबाट फर्किने क्रममा सडकमा सवारीसाधनको जामका कारण दमकल टोली ढिला हुने अवस्था बनेको थियो।
त्यसपछि नगर प्रहरीले वैकल्पिक व्यवस्था गर्दै फायर बाइकमार्फत फायर बल र जेट पम्पसहितको पानी ट्याङ्की घटनास्थल पुर्याएको थियो। धनगढी विमानस्थल र गोदावरी नगरपालिकाका दमकलको सहयोगमा राजपुरको आगलागी नियन्त्रणमा लिइएको जनाइएको छ।


