धनगढी: गत फागुनमा निर्वाचनका समयमा आफ्नै घरको कोठामा मृत फेला परेका बैतडीको दशरथचन्द नगरपालिका–४ बबेतका महादेव वडको मृत्यु प्रकरणमा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको परिवारले गुनासो गरेको छ। घटना भएको करिब आठ महिना बितिसक्दा पनि न्याय नपाएको भन्दै परिवारले किटानी दिएका व्यक्तिमाथि अनुसन्धान अघि बढाउन माग गरेको छ।
मृतक वडका बुवा लक्षिराम वडले छोराले आत्महत्या नगरेको र उनको हत्या भएको बताएका छन्। आफ्नै नातेदारबाट छोराको हत्या भएको उनको आरोप छ। निर्वाचन प्रहरीका रूपमा ड्युटीमा रहेका महादेव घर आएको समयमा घटना भएको परिवारले जनाएको छ। घरमा परिवारका अन्य सदस्य नभएका बेला उनी कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालय बैतडीले शंकास्पद व्यक्तिहरूसँग सोधपुछ नगरेको र उनीहरूलाई कानुनी दायरामा ल्याउने प्रयास नगरेको लक्षिरामको आरोप छ। घटनाबारे प्रहरीमा जानकारी गराउँदा पनि अपेक्षित सहयोग र सहानुभूति नपाएको उनले गुनासो गरे।
‘छोराको मृत्युको सत्यतथ्य बाहिर ल्याउन र न्याय पाउन धेरै ठाउँ धायौँ। जिल्लाबाट ठोस कदम नचालिएपछि काठमाडौंसम्म पुगेर न्यायका लागि गुहार माग्यौँ,’ लक्षिरामले भने, ‘तर, अहिलेसम्म प्रभावकारी जवाफ पाउन सकेका छैनौँ।’ छोराको मृत्युको घटनामा संलग्न रहेको आशंका गरिएका व्यक्तिहरूलाई कारबाही नहुँदा उल्टै आफूहरूमाथि धम्की र दबाब आउने गरेको पनि उनले बताए।
मृतक महादेवका भाइ चन्दन वडले पनि घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन्। आफूहरूले शंका गरेका व्यक्तिहरूसँग सोधपुछ गरेर सत्यतथ्य पत्ता लगाउनुपर्नेमा प्रहरीले उल्टै आफूलाई प्रहरी चौकीमा लगेर मानसिक तथा शारीरिक यातना दिएको उनको आरोप छ। परिवारका अन्य सदस्यलाई समेत यातना दिइएको उनले दाबी गरे।
लामो समय बितिसक्दा पनि किटानी गरिएका व्यक्तिमाथि अनुसन्धान अघि नबढाइएको चन्दनको भनाइ छ। न्यायका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सांसद खगेन्द्र सुनारको सचिवालयसम्म पुगेको उनले बताए। तर, अहिलेसम्म आफूहरूले न्यायको अनुभूति गर्न नसकेको परिवारको गुनासो छ। यता, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपककुमार रायले भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताएका छन्। वड परिवारले दिएको निवेदनका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।


