धनगढीः ‘सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार’को ग्राण्ड फिनालेमा २० जना प्रतिभाबीच प्रतिस्पर्धा भएको छ। प्रतियोगिताको अवसरमा कला, साहित्य र लोकसंस्कृतिमा योगदान पुर्याएका तीन अग्रज स्रष्टा सम्मानित भएका छन्। शनिश्चर म्युजिक कम्पनी प्रा।लि।को आयोजनामा असोज २३ गते धनगढीस्थित होटल पौवामा सम्पन्न कार्यक्रममा गायनतर्फ १२ र नृत्यतर्फ ८ जना प्रतिस्पर्धीले प्रतिभा प्रस्तुत गरेका थिए।
कार्यक्रममा वरिष्ठ साहित्यकार डा. देवेन्द्रप्रसाद भट्ट ‘दीप्त’, वरिष्ठ देउडा गायक तथा सर्जक लालबहादुर थापा र वरिष्ठ थारू लोकगायक तथा सर्जक मनिराम चौधरीलाई सम्मान गरिएको थियो। भट्टले नेपाली भाषा–साहित्य तथा अनुसन्धान, थापाले देउडा गीत–संगीत र चौधरीले थारू भाषा, साहित्य तथा लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका छन्।


