धनगढी: ७१औँ प्रहरी दिवस, २०८३ को पूर्वसन्ध्यामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखामा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराई प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र थापालगायतको उपस्थिति रहेको थियो। त्यसैगरी, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखा धनगढीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक डा. राजन सुवेदी, वरिष्ठ प्रहरी अधिकृत, कनिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
७१औँ प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यकतामा रहेका बिरामीका लागि रगत उपलब्ध गराउने कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


