धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट भोलि साँझ ५ बजे प्रदेशसभामा पेश गर्ने भएको छ। प्रदेशसभाको कार्यव्यवस्था तथा परामर्श समितिको मङ्गलवार बसेको बैठकले बजेट प्रस्तुत गर्न प्रदेशसभाको बैठक भोलि साँझ ५ बजे बोलाउने निर्णय गरेको हो।
बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गर्न सरकारले पत्र पठाइसकेको प्रदेशसभाका सभामुख भीम भण्डारीले बताए। ‘सरकारले बजेट प्रस्तुत गर्ने समय माग गरेअनुसार कार्यव्यवस्था तथा परामर्श समितिले भोलि ५ बजे प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको हो,’ सभामुख भण्डारीले भने।
असार १ गते प्रदेशसभामा प्रस्तुत गरिएको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार साउन १ गतेदेखि बजेट शून्यताको अवस्थामा छ। बजेट शून्यताको असर अस्पताल, आयोजना कार्यान्वयन, कार्यालय सञ्चालन तथा प्रदेशका कर्मचारी र पदाधिकारीको तलबभत्ता वितरणमा परेको छ। कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सरकारका प्रवक्तासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल र आन्तरिक मामिला तथा कानुनमन्त्री खुशीराम चौधरी पनि सहभागी थिए।
मन्त्री रावलले बजेटको तयारी अन्तिम चरणमा पुगेको र भोलि साँझ ५ बजे प्रदेशसभामा बजेट प्रस्तुत गरिने बताए।


