धनगढी: नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सुदूरपश्चिम प्रदेश कमिटीले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउने तयारी थालेको छ। त्यसका लागि प्रदेश कमिटीको १३ औँ पूर्ण बैठक असोज २१ गते धनगढीमा बस्ने भएको छ।
बैठकअघि प्रदेश कमिटीले २० गते केन्द्रीय सदस्य, केन्द्रबाट खटिएका नेता, केन्द्रिय निकायका नेताहरु सँग परामर्श गर्ने तयारी गरेको छ। यस्तै, केन्द्रीय निकायका पदाधिकारी तथा ‘मिसन जागरण अभियान–२०८३’ मा खटिएका नेताहरूको समेत सहभागिता रहने एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।
बैठकमा ‘मिसन जागरण अभियान–२०८३’ को समीक्षा गर्दै आगामी कार्ययोजना तय गरिनेछ। साथै, आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी पार्टीको संगठन विस्तार तथा सुदृढीकरणका विषयमा समेत छलफल हुने जनाइएको छ। एमालेले वडा तथा पालिका तहमा कार्यअवधि पूरा भएका कमिटीहरूको अधिवेशन गर्ने तयारीसमेत गरेको छ। लामो समयदेखि अधिवेशन हुन नसकेका स्थानीय तहका कमिटीलाई सक्रिय बनाउँदै पार्टी संगठनलाई थप चलायमान बनाउने योजना एमालेको छ।
प्रदेश कमिटी सचिव रणबहादुर चन्दले आगामी निर्वाचनलाई ध्यानमा राखेर संगठनलाई व्यवस्थित र सक्रिय बनाउने गरी प्रदेश बैठकमा आवश्यक निर्णय गरिने बताए। उनका अनुसार मिसन जागरण अभियानबाट प्राप्त सुझाव तथा अनुभवलाई आगामी कार्ययोजनामा समेटिनेछ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय बैठक यसअघि पनि सम्पन्न भइसकेको छ।


