धनगढीः बैतडीको सुर्नया गाउँपालिकामा कार्यरत अनुदानका शिक्षक तथा बालविकास सहजकर्ताहरूले आफ्ना माग सम्बोधन गर्न माग गरेका छन्। शिक्षक एकता समितिले २०८१ साउन १ गतेदेखि २०८३ असोज १५ गतेसम्म गाउँपालिकाको कार्यपालिकाले शिक्षा सम्बन्धमा गरेका निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेको हो।
मागहरू सम्बोधन नभए चरणबद्ध रूपमा संघर्षका कार्यक्रम अघि बढाउने सुर्नया शिक्षक एकता समितिले जनाएको छ। समितिको बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै गाउँपालिकाबाट आवश्यक सूचना माग गर्ने र संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
संघर्षका कार्यक्रमअन्तर्गत असोज १७ गते सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई शिक्षकहरूले घोषणा गरेका संघर्षका कार्यक्रम कार्यान्वयनका लागि सहजीकरण गर्न पत्राचार गर्ने, असोज २० गते पालिका अनुदान शिक्षकहरूले आ–आफ्नो विद्यालयमा ‘पेन डाउन’ गर्ने तथा असोज २१ गते गाउँपालिकाको कार्यालयमा उपस्थित भई शान्तिपूर्ण धर्ना राखिएको छ।
त्यसैगरी असोज २२ गते सुर्नया गाउँपालिका–५ स्थित कटौजिया बजारदेखि गाउँपालिकाको कार्यालयसम्म नाराजुलुससहित पुगेर धर्ना दिने र त्यसपछि थप संघर्षका कार्यक्रम घोषणा गर्ने समितिको निर्णय छ। यसअघि समितिले असोज १२ गते गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै विभिन्न माग राखेको थियो। ज्ञापनपत्रमा तहअनुसार समयसापेक्ष तलब वृद्धि गर्नुपर्ने, पालिका अनुदान शिक्षकलाई पोशाक तथा चाडबाड खर्च उपलब्ध गराउनुपर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने तथा पालिका शिशु र बालविकास सहजकर्ताको तलब वृद्धि गर्नुपर्ने माग गरिएको छ।


