धनगढी : सेती प्रादेशिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलालीबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।
डा. मिश्रले सामाजिक सञ्जालमार्फत महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय मिश्र निसर्ग अस्पतालका सञ्चालकसमेत हुन्।
स्वास्थ्य तथा पेशागत क्षेत्रको अनुभवलाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा प्रस्तुत गर्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको डा. मिश्रले बताएका छन्।

स्वास्थ्य क्षेत्रका समस्या, स्वास्थ्यकर्मीका पेशागत सवाल तथा नागरिकको स्वास्थ्य सेवामा पहुँचका विषयलाई पार्टीको नीति तथा निर्णय प्रक्रियामा प्राथमिकताका साथ उठाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।
कैलालीबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्ने क्रमसँगै कांग्रेसभित्र आगामी महाधिवेशनलाई लक्षित गरी आन्तरिक गतिविधिसमेत बढ्दै गएको छ।

