दार्चुला: उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलअन्तर्गत छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सफाइका लागि बाँधको ढोका खोलिने भएको छ । ढोका खुलेमा महाकाली नदीको जल सतह बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रको बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन तपोवन भारतबाट जिल्ला प्रशासन कार्यालय दार्चुलालाई सूचना प्राप्त भएको आधारमा सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिनुभयो । प्राप्त सूचनाअनुसार असोज ११ गते आइतबार राति १२ बजेदेखि असोज १२ गते सोमबार बिहान १० बजेसम्म ३४ घण्टा धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले नेपाली प्रशासनलाई बाँध खोल्नेबारे पत्राचार गरेको हो ।
बाँधको ढोका खोलिने भएपछि नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको जानकारीका लागि सूचना जारी गरिएको उहाँले बताउनुभयो । नदी तटीय क्षेत्रका स्थानीयलाई नदी किनारमा नजान सूचनामार्फत आग्रह गरिएको छ । भारतीय पक्षले वर्षाको समयमा सरसफाइ गर्ने भन्दै बेला–बेला बाँधका ढोका खोल्दै आएको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान स्थानीय प्रशासनले अनुरोध गरेको हो ।
२८० मेगावाट विद्युत क्षमताको धौलीगङ्गा बाँध छिरकिल्लामा पर्दछ । परियोजनाको बाँध खोल्नुपूर्व भारतीय पक्षले नेपाली पक्षलाई सतर्कताका लागि जानकारी गराउने गरेको सहायक पजिअ धामीले बताउनुभयो । दार्चुलामा व्यास गाउँपालिका –५ धौलाकोटदेखि लेकम गाउँपालिका –३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सूचित गराएको छ ।

