धनगढी: बाजुराको हिमाली क्षेत्रमा यतिबेला स्याउका बोट फलले झुकेका छन् । विगतका वर्षको तुलनामा उत्पादन बढेपछि किसान पनि उत्साहित छन् । बारीभरि लटरम्म फलेका स्याउले किसानमा आम्दानी बढ्ने आशा जगाएको छ । तर, बारीमा उत्पादन भएको स्याउ टिपेर बजारसम्म पु¥याउने विषय भने किसानका लागि चुनौती बनेको छ । गाउँमै स्याउ खरिद गर्ने व्यापारी नआउने र स्थानीय बजारमा पर्याप्त माग नहुँदा किसानले उत्पादन गरेको स्याउ बिक्री गर्न समस्या भएको हो ।
उत्पादन बढे पनि बजारको सुनिश्चितता नहुँदा कतिपय किसानको स्याउ बारीमै कुहिने अवस्था आएको छ । बिक्री नभएपछि गाईगोरुलाई खुवाउनुपर्ने अवस्था आउन थालेको किसानको गुनासो छ । यही समस्याका कारण बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसान दानबहादुर रावल आफ्नै र अन्य किसानको गरी ७५ क्विन्टल स्याउ लिएर धनगढी आइपुग्नुभएको छ । गाउँमै खरिदकर्ता नआएपछि एक ट्रक स्याउ कर्णाली करिडोर हुँदै सुर्खेत र त्यसपछि धनगढी ल्याइएको हो । लामो दूरीको यात्रा, ढुवानी खर्च र बाटोको जोखिम मोलेर भए पनि उत्पादन गरेको स्याउ बिक्री गर्नुपर्ने बाध्यता किसानको छ ।
“हाम्रो गाउँमा स्याउ उत्पादन राम्रो भएको छ । तर, खरिद गर्न व्यापारी आएनन् । बिक्री नभएपछि गाईगोरुलाई खुवाउनुपर्ने अवस्था आउन थालेको थियो । त्यसैले किसानको स्याउ संकलन गरेर धनगढी ल्याएका हौँ ।” बाजुराको स्याउ आकार र बाहिरी आकर्षणका हिसाबले बजारमा पाइने अन्य स्याउभन्दा केही फरक देखिन्छ । तर, स्वाद र गुणस्तरका हिसाबले भने राम्रो रहेको किसान र व्यवसायीको भनाइ छ ।
स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले धनगढी ल्याइएको बाजुराको स्याउ अहिले प्रतिकेजी १ सय २० रुपैयाँमा बिक्री भइरहेको छ । किसानले लामो दूरी पार गरेर बजारसम्म ल्याएको स्याउ उपभोक्ताले खरिद गरिदिए उत्पादनको उचित मूल्य पाउने आशा गरिएको छ ।
“बाजुराको स्याउ हेर्दा त्यति आकर्षक नदेखिए पनि स्वाद राम्रो छ । स्थानीय उत्पादन भएकाले उपभोक्ताले यसको प्रयोग गर्नुपर्छ । किसानको उत्पादन खेर जान नदिन सबैले सहयोग गर्न आवश्यक छ ।” बाजुरामा स्याउ उत्पादनको सम्भावना बढ्दै गए पनि त्यसअनुसार बजार व्यवस्थापन भने हुन सकेको छैन । उत्पादन हुने क्षेत्रमै संकलन केन्द्र, बजार र भण्डारणको व्यवस्था नहुँदा किसानलाई आफ्नो उत्पादन टाढाको बजारसम्म लैजानुपर्ने बाध्यता छ ।
स्याउजस्तो छिटो बिग्रिने कृषि उपजका लागि भण्डारणको उचित व्यवस्था नहुँदा किसानले उत्पादन गरेको फल लामो समयसम्म सुरक्षित राख्न सक्दैनन् । फलस्वरूप बजारमा माग कम भएको समयमा किसानले सस्तो मूल्यमा बिक्री गर्नुपर्ने वा उत्पादन नै खेर जाने अवस्था सिर्जना हुन्छ । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न जिल्लामा शीतभण्डार अर्थात् कोल्ड स्टोर निर्माण गर्ने योजना तथा काम अघि बढाए पनि बाजुरामा भने स्याउ भण्डारणका लागि आवश्यक पूर्वाधारको अभाव रहेको किसानको गुनासो छ ।
“बाजुरामा स्याउ उत्पादन बढिरहेको छ । तर, उत्पादनअनुसार बजार र भण्डारणको व्यवस्था छैन । किसानले उत्पादन गरेको स्याउ सुरक्षित राख्ने ठाउँ नहुँदा बारीमै कुहिने वा सस्तोमा बिक्री गर्नुपर्ने अवस्था छ ।” बाजुरामा स्याउ उत्पादन बढ्नु किसानका लागि मात्र नभई स्थानीय अर्थतन्त्रका लागि पनि महत्वपूर्ण अवसर हो । तर, उत्पादन बढाएर मात्रै किसानको आम्दानी बढ्दैन । उत्पादनसँगै बजारको सुनिश्चितता, संकलन केन्द्र, ढुवानीको सहज व्यवस्था, उचित मूल्य र शीतभण्डार आवश्यक हुन्छ ।
बाजुराका किसानले वर्षभरि गरेको मेहनतको प्रतिफल बजारसम्म पु¥याउन नसक्ने अवस्था अन्त्य गर्न स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक देखिन्छ । उत्पादन भएको स्याउ गाउँमै संकलन गर्ने, भण्डारण गर्ने र बजारसँग जोड्ने व्यवस्था गर्न सके किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउनेछन् । अन्यथा हरेक वर्ष उत्पादन बढे पनि बजार अभावकै कारण किसानको मेहनत खेर जाने जोखिम कायमै रहनेछ ।
अहिले भने बाजुराको स्याउ धनगढी बजारमा आइपुगेको छ । किसानले उत्पादन गरेको फल खेर नजाओस् र स्थानीय उत्पादनले बजार पाओस् भन्ने उद्देश्यले उपभोक्तालाई पनि बाजुराको स्याउ खरिद गरी उपभोग गर्न आग्रह गरिएको छ ।

