धनगढी । ९ औँ अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा कैलालीको धनगढीमा दीप प्रज्वलन गरिएको छ । बहिरा व्यक्तिहरूको मानव अधिकार, सांकेतिक भाषाको महत्व तथा उनीहरूको शिक्षा, स्वास्थ्य र सामाजिक सहभागिताका विषयमा राज्यको ध्यानाकर्षण गराउन बहिरा संघ कैलालीको आयोजनामा बुधबार साँझ धनगढीको पार्कमोडमा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै बहिरा व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न राज्य तथा सम्बन्धित सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए । ‘बहिरा व्यक्तिहरूको मानव अधिकार घोषणा’ भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा सांकेतिक भाषालाई बहिरा समुदायको अधिकार र पहिचानसँग जोडेर हेर्नुपर्ने धारणा राखिएको थियो ।
कार्यक्रमका क्रममा हालै भोटेकोसी क्षेत्रमा आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो । दीप प्रज्वलनमार्फत मृतकप्रति सम्मान व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको थियो ।
कार्यक्रममा बहिरा संघ कैलालीकी उपाध्यक्ष पिन्की बोगटीले स्वागत मन्तव्य राख्दै बहिरा व्यक्तिहरूका लागि सांकेतिक भाषाको महत्व अत्यन्त महत्वपूर्ण रहेको बताइन् । सांकेतिक भाषा केवल सञ्चारको माध्यम मात्रै नभई बहिरा समुदायको पहिचान, अधिकार र सामाजिक सहभागितासँग जोडिएको विषय भएको उनको भनाइ थियो ।
उनले बहिरा व्यक्तिहरूको अधिकारका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै राज्यका सम्बन्धित निकायलाई बहिरा समुदायका सवालमा गम्भीर बन्न आग्रह गरिन् । बहिरा व्यक्तिहरूले शिक्षा, रोजगारी, स्वास्थ्य तथा सार्वजनिक सेवामा सहज पहुँच प्राप्त गर्न नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो ।
बोगटीले बहिरा बालबालिकाको शिक्षामा समेत राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताइन् । बहिरा विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री, दक्ष सांकेतिक भाषा शिक्षक, समावेशी तथा पहुँचयुक्त शिक्षाको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन् ।
त्यस्तै, सरकारी कार्यालय तथा सार्वजनिक सेवा प्रवाह हुने स्थानमा बहिरा व्यक्तिहरूले सहज रूपमा सेवा लिन सक्ने वातावरण निर्माण गर्नुपर्ने मागसमेत कार्यक्रममा उठाइएको थियो ।
सांकेतिक भाषा बुझ्ने तथा दोभाषेको व्यवस्था नहुँदा बहिरा व्यक्तिहरूलाई राज्यबाट प्राप्त हुने सेवा तथा सुविधामा समेत समस्या हुने सहभागीहरूको भनाइ थियो । दीप प्रज्वलन कार्यक्रममा बहिरा समुदायका अधिकार, सांकेतिक भाषाको संरक्षण र प्रवर्द्धन तथा बहिरा व्यक्तिहरूलाई समाजको मूलधारमा समान सहभागिताको अवसर प्रदान गर्नुपर्ने विषयमा जोड दिइएको थियो ।
सांकेतिक भाषा दिवसले बहिरा व्यक्तिहरूलाई दया वा सहानुभूतिभन्दा पनि समान अधिकार, सम्मान र अवसरको आवश्यकता रहेको सन्देश दिएको सहभागीहरूले बताएका छन् । राज्यले नीति तथा कार्यक्रम बनाउँदा बहिरा समुदायका वास्तविक आवश्यकता र उनीहरूको सहभागितालाई समेत प्राथमिकतामा राख्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

