धनगढी: टिकापुर नगरपालिका–२, सितापुर क्षेत्रमा विगत एक महिनादेखि हात्तीको आतंक बढ्दै गएको छ। हात्ती बस्ती तथा खेतबारीमा प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा असुरक्षित र त्रसित बनेका छन्। हात्तीले किसानहरूले लगाएको धानबालीमा समेत क्षति पुर्याउँदै आएको स्थानीयवासीले बताएका छन्। लामो समयदेखि हात्तीको आवतजावत नरोकिएपछि किसानहरू आफ्नो मेहनतले लगाएको बाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको छ।
हात्तीको आतंकका कारण स्थानीयको जनधनको सुरक्षामाथि समेत जोखिम बढेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल आवश्यक पहल गर्न माग गरेका छन्। विशेषगरी बस्ती क्षेत्रमा हात्ती प्रवेश रोक्न प्रभावकारी उपाय अपनाउनुका साथै क्षति भएको धानबालीको उचित मूल्यांकन गरी किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ। स्थानीयवासीले हात्ती नियन्त्रण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सम्बन्धित वन कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायको तत्काल ध्यानाकर्षण गराएका छन्।
हात्तीको आतंकबाट स्थानीयवासीको सुरक्षा र किसानको बाली संरक्षणका लागि सम्बन्धित निकायले समयमै प्रभावकारी कदम चाल्न आवश्यक देखिएको छ।

