धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य कृष्णा सिराडीले तीज पर्वलाई महँगो, भड्किलो र देखावटी नभई मौलिक संस्कृति र परम्पराअनुसार मनाउन आग्रह गरेकी छन् । धनगढीस्थित वैशेषिक पाठशालामा आयोजित तीज नृत्य प्रतियोगितालाई सम्बोधन गर्दै सिराडीले पछिल्लो समय तीजमा बढ्दै गएको देखासिकी, तडकभडक र खर्चिलो प्रवृत्तिले पर्वको मौलिकता हराउँदै गएको बताइन् । तीज हुनेखाने वर्गको मात्रै पर्व हो कि भन्ने आभास हुन थालेको भन्दै उनले चिन्तासमेत व्यक्त गरिन् ।
‘हामीले देखासिकी गर्ने होइन, आफ्नो संस्कार र संस्कृतिअनुसार अघि बढ्नुपर्छ,’ उनले भनिन्, ‘तीजलाई देखावटीभन्दा पनि हाम्रो मौलिक परम्परा र संस्कृतिअनुसार मनाउनुपर्छ ।’ देश यसपटक शोकमा रहेकाले तीजलाई सामान्य र संयमित रूपमा मनाउन पनि उनले आग्रह गरिन् । तीजका नाममा अनावश्यक खर्च र भड्किलो गतिविधि नगरी पर्वको सांस्कृतिक पक्षलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी सिराडीले तीज नृत्य प्रतियोगितामा किशोरीहरूलाई मौलिक पहिरनमा सहभागी गराएकोमा आयोजक वैशेषिक पाठशालालाई धन्यवाद दिइन् । ‘तपाईंहरू सबै अभिभावकलाई धन्यवाद दिन्छु । छोरीहरूलाई यसरी आफ्नो मौलिक पहिरनमा सजाएर ल्याउनुभएको छ । वैशेषिक पाठशालाले पनि संस्कृति संरक्षण गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको छ,’ उनले भनिन् ।
तीजको मौलिकता र सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भन्दै उनले तडकभडकभन्दा संस्कृति संरक्षणमा जोड दिनुपर्ने बताइन् । कार्यक्रममा अभिभावकहरू पनि मौलिक संस्कृति संरक्षणप्रति सचेत देखिएको उनको भनाइ थियो । सिराडीले आगामी दिनमा पनि विद्यालय तथा विभिन्न संघसंस्थाले मौलिक संस्कृति, पहिरन र परम्पराको संरक्षण हुने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

