धनगढी । कैलालीका विद्यार्थीहरूले आफ्नो एक दिनको खाजा खर्च बचाएर भोटेकोशी बाढीपीडितका लागि राहत संकलन गरेका छन्।
घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले बुधबार खाजाका लागि ल्याएको रकम राहत कोषमा जम्मा गरेका हुन्। स्वतन्त्र विद्यार्थी युनियनका सभापति अशोक गौतमका अनुसार पूर्वसूचना नदिए पनि विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा सहयोग गरेका छन्।
त्यस्तै, घोडाघोडी नगरपालिका–१ सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूले पनि एक दिनको खाजा खर्च राहतका लागि छुट्याएका छन्।
घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले समेत खाजा खर्च बचाएर ३२ हजार २२५ रुपैयाँ संकलन गरेका छन्। विद्यालयका अनुसार संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विद्यालय तथा बस्तीमा भएको क्षतिबाट प्रभावित परिवारलाई सहयोग गर्न विद्यार्थीहरूले आफ्नो क्षमता अनुसार रकम जुटाएका हुन्। उनीहरूले सानो सहयोगले पनि विपद्का बेला ठूलो अर्थ राख्ने बताएका छन्।

