धनगढी: धनगढी उपमहानगरपालिका–५ स्थित सुन्दरनगर टोल विकास समितिले भोटेकोशी नदीको बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ। टोल विकास समितिका अध्यक्ष मिनबहादुर धामीको अगुवाइमा चैतन्य पाठशाला, टोलवासी तथा विभिन्न घरपरिवारका सदस्यहरूले आ–आफ्नो तर्फबाट राहत सामग्री संकलन गरेका हुन्।

पीडित परिवारलाई तत्काल राहत पुग्ने उद्देश्यले चामल, दाल, नुन, तेल, बिस्कुट, चाउचाउ, चिउरा तथा लत्ताकपडालगायतका सामग्री सहयोग गरिएको समितिले जनाएको छ। संकलित राहत सामग्रीको कुल मूल्य एक लाख चार हजार तीन सय २० रुपैयाँ बराबर रहेको बताइएको छ। उक्त राहत सामग्री मंगलबार धनगढी उपमहानगरपालिका–५ का वडाध्यक्ष गजेन्द्र शाहीलाई हस्तान्तरण गरिएको हो।
यसअघि विभिन्न व्यक्ति तथा संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिरहेको अवस्थामा सुन्दरनगरका स्थानीयवासीले पीडितका लागि आवश्यक सामग्री नै संकलन गरेर सहयोग गरेका हुन्। राहत सामग्री छिटोभन्दा छिटो बाढीपीडित परिवारसम्म पुग्ने अपेक्षा गरिएको टोल विकास समितिले जनाएको छ। समितिले सहयोग गर्ने सम्पूर्ण सहयोगदाता तथा स्थानीयवासीप्रति हार्दिक धन्यवादसमेत व्यक्त गरेको छ। समितिले विपद्को समयमा सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो राहत बन्न सक्ने भन्दै सबैलाई मानवीय सहयोगमा जुट्न आग्रह गरेको छ।

