काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्ट गोरखामा मृत भेटिएका छन् । भदौ १० मा आएको बाढीमा परेका विष्टको शव त्रिशूली नदी किनारमा भेटिएको हो । पश्चिमाञ्चल क्षेत्री अस्पताल पोखरामा पोस्टमार्टमपछि उनका परिवारले शव बुझेका छन् । ३४ वर्षीय विष्ट पाल्पाको तानसेन नगरपालिका–१० का स्थानीय हुन् ।
गोरखामा भेटिएको ५८ वटा शवमध्ये अहिलेसम्म विष्ट सहित तीनजनाको मात्र सनाखत भएको छ । इलामको सन्दकपुर गाउँपालिका–३ घर भएर काठमाडौँ बस्ने ३८ वर्षीय दीपक भन्ने दिवासनन्द सुवेदी र गोरखाको पालुङटार नगरपालिका–६ घर भएका यम बहादुर थापाको पनि पहिचान खुलेको छ । उनीहरूको पनि पोखरामा पोस्टमार्टम गरेपछि शव परिवारलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
शव व्यवस्थापनको अरु विकल्प नभएपछि प्रहरीले २९ वटा शवहरू गोरखाको शहिद लखन गाउँपालिकाको बुंकोट घाटमा गाडेर व्यवस्थापन गरेको छ । पहिचान भएका तथा बेवारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका अनुसार शव माटोमुनि गाडेर व्यवस्थापन गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

