धनगढी: कैलालीमा जंगली बँदेललाई हानेको गोली लागेर एक व्यक्तिको ज्यान गएको छ। बर्दगोरिया गाउँपालिका– ३ स्थित लालीगुराँस सामुदायिक वनमा सिकार खेल्ने क्रममा हानेको भरुवा बन्दुकको गोली लागेर ४३ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको हो। मंगलबार दिउँसो सिकार खेल्ने क्रममा कृष्णबहादुर बुढा क्षेत्रीले जंगली बँदेललाई हानेको गोली विश्वकर्माको दाहिने छातीमा लागेको थियो। विश्वकर्मालाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि शवलाई जंगलमै लगी छाडेर भागेको आरोपमा मृतकका भाइ गणेश विश्वकर्माले दिएको जाहेरीका आधारमा कृष्णबहादुर बुढा क्षेत्री र राकेश डगौरा थारूलाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा घटनामा प्रयोग भएकोसहित दुई थान भरुवा बन्दुक जडैठाँडास्थित काँडा नदीको बगरमा माटोमुनि लुकाएको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ।

