धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको एक सातामा खगराज भट्टले स्वास्थ्य सेवा सुधारदेखि विपद् व्यवस्थापन, पश्चिम सेती जलविद्युत् आयोजना र ग्यास आपूर्तिसम्मका विषयमा चासो देखाएका छन्।
साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले सोही दिन पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका थिए। त्यसयता उनले प्रदेश सरकारको कामकारबाही अघि बढाउन विभिन्न निकायसँग छलफल तथा स्थलगत निरीक्षण गरेका छन्।
साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरे। पदभार ग्रहण गर्नुअघि उनले धनगढीस्थित शहीद गेटमा पुगेर शहीदप्रति माल्यार्पण गरे।
त्यसै दिन एमालेबाट सामाजिक विकासमन्त्री सन्तोषकुमारी शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी र एक राज्यमन्त्रीले पनि शपथ लिएका थिए।
सोही दिन बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकता दिने निर्णय गर्यो। बैठकले प्रदेशका विभिन्न अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ।
निर्णयअनुसार सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर प्रादेशिक अस्पतालमा तीन डायलाइसिस शय्या थप गरिनेछ। त्यस्तै लम्कीचुहा अस्पतालमा पाँच तथा बयलपाटा र जोगबुडा अस्पतालसहित प्रदेशका सबै जिल्ला अस्पतालमा दुई–दुई डायलाइसिस शय्या विस्तार गर्ने निर्णय गरिएको छ।
नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सेवा विस्तार गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ। बैठकले विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको थियो।
मुख्यमन्त्री भट्टले दोस्रो दिनदेखि नै प्रदेश सरकारका प्राथमिकताका विषयमा छलफल तथा भेटघाटलाई अघि बढाए। स्वास्थ्य, विपद् व्यवस्थापन, विकास आयोजना र नागरिकलाई सहज सेवा उपलब्ध गराउने विषयलाई उनले प्राथमिकतामा राख्ने सङ्केत दिएका थिए।
मुख्यमन्त्री भट्टले साउन ३१ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालको निरीक्षण गरे। उनले आकस्मिक कक्ष, डायलाइसिस सेवा, सघन उपचार कक्ष (आईसीयू) लगायत अस्पतालका विभिन्न वार्डको स्थलगत निरीक्षण गरे।
निरीक्षणका क्रममा उनले सेती अस्पताल प्रदेशको स्वास्थ्य सेवाको प्रमुख भरोसाको केन्द्र भए पनि अवस्था अपेक्षाअनुसार नरहेको बताए। अस्पताल सुधारका लागि प्रदेश सरकार, अस्पताल प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा उनले जोड दिए।
मुख्यमन्त्रीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयलाई एक साताभित्र स्पष्ट सुधार कार्ययोजना पेस गर्न निर्देशन दिए। तत्काल गर्नुपर्ने सुधार, आवश्यक पूर्वाधार, उपकरण, जनशक्ति र बजेटको आवश्यकतासहितको योजना तयार पार्न उनले निर्देशन दिएका थिए।
यही दिन मुख्यमन्त्री भट्टले प्रदेशमा विपद् व्यवस्थापनको तयारीबारे पनि जानकारी लिए। आन्तरिक मामिला मन्त्रालयका सचिव तेजप्रकाश जोशीसँग प्रदेशको विपद् जोखिम, सम्भावित जोखिमयुक्त क्षेत्र, उद्धार तथा राहत व्यवस्थापन र प्रतिकार्यको तयारीबारे उनले ब्रिफिङ लिए।
विपद् जुनसुकै बेला आउन सक्ने भन्दै उनले आवश्यक संयन्त्रलाई तयारी अवस्थामा राख्न, सम्भावित जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन गर्न तथा प्रदेश, जिल्ला, स्थानीय तह र सुरक्षा निकायबिच प्रभावकारी समन्वय गर्न निर्देशन दिए।
मुख्यमन्त्री भट्टले भदौ १ र २ गते सरकार सञ्चालन, आगामी कामको प्राथमिकता तथा विश्वासको मत लिने प्रक्रियाको तयारीमा ध्यान केन्द्रित गरे। नयाँ सरकारलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक समन्वय र राजनीतिक तयारीसमेत ती दिनमा अघि बढाइएको थियो।
भदौ २ गते मुख्यमन्त्री भट्टले विश्वासको मत लिने तयारीस्वरूप संसदीय दलको बैठक राखे। बैठकमा सरकारलाई विश्वासको मत दिलाउने विषय तथा आगामी राजनीतिक र संसदीय रणनीतिबारे छलफल गरिएको थियो।
मुख्यमन्त्री भट्टले भदौ ३ गते प्रदेशसभाबाट विश्वासको मत लिए। यससँगै उनको नेतृत्वमा बनेको सरकारलाई औपचारिक रूपमा अघि बढ्ने बाटो खुलेको छ। विश्वासको मत पाएसँगै अब भट्टसामु मन्त्रिपरिषद्लाई पूर्णता दिने, प्रदेश सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजाने तयारी भइरहेको जनाएको छ।

