धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा र व्यवस्थापनको अवस्था बुझ्न पुनः अनुगमन गर्नुभएको छ। आइतबार मात्रै अस्पतालको अनुगमन गर्नुभएका मुख्यमन्त्री भट्ट मंगलबार फेरि छड्के अनुगमनका लागि अस्पताल पुग्नुभएको हो। उपचाररत बिरामीका समस्या प्रत्यक्ष रूपमा बुझ्न उहाँ अस्पताल पुग्नुभएको बताइएको छ।
मुख्यमन्त्री भट्टले बिरामीसँगै बसेर अस्पतालबाट प्राप्त भइरहेको उपचार सेवाबारे जानकारी लिनुका साथै चिकित्सक तथा स्वास्थ्यकर्मी समयमै उपस्थित हुने–नहुने विषयमा समेत जानकारी लिनुभएको थियो। आइतबारको अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले अस्पतालको अवस्था सुधारका लागि एक साताभित्र कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको थियो। त्यसको प्रगति र अस्पतालमा देखिएका समस्या बुझ्न उहाँ पुनः अस्पताल पुग्नुभएको हो।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्र सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै सेती प्रादेशिक अस्पतालबाटै सुधारको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले प्रदेशभरका अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापनमा सुधार गर्दै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभएको छ।

