धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएलगत्तै सेती प्रादेशिक अस्पतालको निरीक्षण गर्नुभएको छ । शुक्रबार मुख्यमन्त्रीको शपथ लिनुभएका भट्ट शनिबार अस्पतालको समग्र अवस्था बुझ्न निरीक्षणमा पुग्नुभएको हो । मुख्यमन्त्री भट्टले अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी), डायलायसिस सेवा, सघन उपचार कक्ष (आईसीयू), गाइने वार्डलगायत विभिन्न विभाग तथा वार्डको स्थलगत निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले अस्पतालको भौतिक तथा सेवा प्रवाहको अवस्था सन्तोषजनक नरहेको बताउनुभयो ।
सुदूरपश्चिमका लाखौँ नागरिकको स्वास्थ्य सेवाको प्रमुख भरोसाको केन्द्रका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको अवस्था अपेक्षाअनुसार नरहेको मुख्यमन्त्री भट्टको भनाइ थियो । “सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमका लाखौँ जनताको भरोसा रहेको अस्पताल हो । तर यहाँको अवस्था हेर्दा ठीक देखिएन । वार्डमा बिरामीको अवस्था बेजोग छ, इमर्जेन्सीमा बेड छैन, ट्वाइलेटमा फोहोर छ । समग्रमा हेर्दा सेती अस्पताल आफैँ बिरामीजस्तो देखियो,” उहाँले भन्नुभयो । मुख्यमन्त्री भट्टले आफ्नो पहिलो निर्णय नै स्वास्थ्य क्षेत्र केन्द्रित रहेको भन्दै प्रदेशको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्ने बताउनुभयो । विशेषगरी डायलायसिस सेवा विस्तारसँगै सेती प्रादेशिक अस्पतालको समग्र सुधारका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने उहाँको भनाइ छ ।
“मेरो धेरै लामो कार्यकाल त छैन । चमत्कारै गर्न सक्छु भन्ने होइन, तर सुधार गर्न सक्छु । यहाँ धेरै समस्या देखेको र सुनेको पनि छु,” मुख्यमन्त्री भट्टले भन्नुभयो । अस्पतालबाट बिरामीलाई अनावश्यक रूपमा निजी अस्पतालतर्फ पठाउने गरिएको भन्ने गुनासोप्रति समेत प्रदेश सरकारले अध्ययन गर्ने उहाँले बताउनुभयो । सेती अस्पतालबाट ‘सेटिङ’मा बिरामी बाहिर पठाइने गरेको भन्ने गुनासो आफूले सुनेको भन्दै त्यसको वास्तविकता अध्ययन गरिने उहाँको भनाइ थियो ।

एक साताभित्र सुधार कार्ययोजना पेश गर्न निर्देशन
मुख्यमन्त्री भट्टले सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयलाई एक साताभित्र अस्पताल सुधारको स्पष्ट कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको छ । उहाँले अस्पतालमा तत्काल गर्नुपर्ने सुधार, आवश्यक पूर्वाधार, उपकरण, जनशक्ति तथा बजेटको आवश्यकतासहितको योजना तयार पार्न निर्देशन दिनुभयो । “पहिला सुधारका कार्ययोजना दिनुस् । कति बजेट आवश्यक हो, हामी स्रोत–साधनको सदुपयोग गर्दै आवश्यक बजेट विनियोजन गर्नेछौँ,” मुख्यमन्त्री भट्टले भन्नुभयो ।
तर बजेट विनियोजनका नाममा हुने अनियमितता र बेथितिमा आफूले कुनै सम्झौता नगर्ने उहाँले स्पष्ट पार्नुभयो । उपकरण खरिदलगायतका विषयमा कमिसनको खेल स्वीकार्य नहुने भन्दै मुख्यमन्त्री भट्टले आफू शून्य सहनशीलताको नीतिमा अघि बढ्ने बताउनुभयो । “यहाँको बेथितिमा म साथ दिँदैनँ । खगराज भट्ट कुनै उपकरण खरिद गर्दा कमिसन माग्ने मान्छे होइन । म शून्य सहनशीलता अपनाएर काम गर्छु । सबैको स्पिड त्यही होस्,” उहाँले भन्नुभयो ।
हरेक १५ दिनमा अस्पताल निरीक्षण गर्ने
मुख्यमन्त्री भट्टले सेती प्रादेशिक अस्पतालको सुधारका लागि नियमित अनुगमन गर्ने बताउनुभएको छ । उहाँले अब हरेक १५ दिनमा अस्पतालको निरीक्षण गरी सुधारको प्रगति हेर्ने जानकारी दिनुभयो । अस्पतालको अवस्थाबारे कागजी रिपोर्टमा मात्रै भर नपरी स्थलगत रूपमा सेवा प्रवाहको अवस्था बुझ्ने र देखिएका समस्या समाधान गर्दै जाने उहाँको भनाइ छ ।
प्रदेशभरका सरकारी चिकित्सकको विवरण एपमा राख्ने तयारी
मुख्यमन्त्री भट्टले प्रदेशभर सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको विवरण, उनीहरूको कार्यस्थल र ड्युटी समयसमेत डिजिटल माध्यमबाट निगरानी गर्न सकिने प्रणाली विकास गर्ने तयारी भइरहेको बताउनुभयो । प्रदेशभर कुन चिकित्सक कहाँ कार्यरत छन्, कुन समयमा ड्युटीमा छन् भन्ने जानकारी सहजै प्राप्त हुने गरी एप निर्माण गर्ने सोचमा प्रदेश सरकार रहेको उहाँले बताउनुभयो । “अब एउटा एप बनाइनुपर्छ । प्रदेशभर कहाँ कति चिकित्सक छन्, सरकारीमा को कहाँ र कतिबेला ड्युटी गरिरहेका छन्, सबै जानकारी त्यसमा होस् । यसरी काम गर्ने सोचिरहेका छौँ,” उहाँले भन्नुभयो ।
सरकारी अस्पतालमा ड्युटी समयमै निजी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकको विषयमा समेत निगरानी आवश्यक रहेको मुख्यमन्त्री भट्टको भनाइ थियो । सरकारी स्वास्थ्य संस्थामा चिकित्सकको नियमित उपस्थिति र सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटल प्रणाली उपयोगी हुने उहाँले बताउनुभयो । निरीक्षणका क्रममा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव डा. नीरज अर्याल, आयुर्वेद महाशाखा प्रमुख डा. चेतराज जोशीलगायतको सहभागिता थियो ।
मुख्यमन्त्री भट्टले अस्पताल सुधारका लागि प्रदेश सरकार, अस्पताल प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभएको छ । सेती प्रादेशिक अस्पताललाई सुदूरपश्चिमका नागरिकले भरोसा गर्न सक्ने गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्र बनाउने आफ्नो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

