धनगढी — धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निर्माण सम्पन्न भएको नयाँ भवन हस्तान्तरण कार्यक्रमका लागि बोलाइएका पत्रकारहरू लामो समयसम्म प्रतीक्षा गराइएपछि कार्यक्रमस्थलबाटै फर्किएका छन्। संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले करिब ९ वर्षपछि निर्माण सम्पन्न भएको अस्पताल भवन हस्तान्तरण कार्यक्रम बिहीबार अपराह्न ४ बजे आयोजना गर्ने तयारी गरेको थियो। सोही कार्यक्रमका लागि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बलराम जैशी भट्टको आग्रहमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवामार्फत महासंघका सहसचिव शंकर बोहराले पत्रकारहरूको समूहमा सूचना प्रवाह गरेका थिए।
सूचनाअनुसार जिल्लाका करिब १५–२० जना पत्रकार तथा अत्तरियाबाट समेत केही सञ्चारकर्मी अस्पताल पुगेका थिए। पत्रकारहरू अस्पताल अध्यक्षको कार्यकक्षमा भेला भए पनि निर्धारित समयमा कार्यक्रम सुरु भएन। त्यहाँ रहेका कर्मचारीसँग कार्यक्रमबारे जिज्ञासा राख्दा सबै सरहरू बैठकमा हुनुहुन्छ, केही समय लाग्छू भन्ने जवाफ मात्र दिइएको पत्रकारहरूले बताएका छन्। करिब एक घण्टा बितिसक्दा पनि कार्यक्रम कहिले सुरु हुन्छ भन्ने स्पष्ट जानकारी नदिइएपछि पत्रकारहरूले समयको बेवास्ता गरिएको भन्दै अस्पतालबाट फर्किएका थिए। कार्यक्रममा बोलाएर कुनै जानकारी वा समन्वय नगरेको भन्दै अस्पताल प्रशासनको गैरजिम्मेवार व्यवहारप्रति पत्रकारहरूले असन्तुष्टि जनाएका छन्।
यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बलराम जैशी भट्टले भने भवन हस्तान्तरणसम्बन्धी फाइलमा अन्तिम छलफल भइरहेका कारण कार्यक्रम केही ढिला भएको बताए। ूफाइल हस्तान्तरणको प्रक्रिया चलिरहेकाले पत्रकारहरूलाई केहीबेर कुर्न आग्रह गरेका थियौँ। प्रक्रिया सकिएपछि बोलाउने तयारी थियो, तर ढिलाइ हुँदा पत्रकारहरू फर्किसक्नुभएको रहेछ, उनले भने, पत्रकारहरूलाई नियतवश कुर्न लगाइएको होइन। त्यसपछि हामीले औपचारिक रूपमा भवन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका हौँ।
सेती प्रादेशिक अस्पतालको उक्त भवन निर्माणका लागि संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले २०७४ कात्तिक २८ गते रविना–थेगिम जेभीसँग १८ करोड ७४ लाख २८ हजार रुपैयाँमा सम्झौता गरेको थियो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवन विभिन्न कारणले करिब नौ वर्षपछि मात्रै निर्माण सम्पन्न भई अस्पताललाई हस्तान्तरण गरिएको हो।

