धनगढीः फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री प्रसारण गरेको आरोपमा दार्चुलाका एक नेपाली नागरिकलाई भारतको उत्तराखण्डस्थित पिथौरागढ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–९ का ३२ वर्षीय वीरभानराम लावड रहेका छन्। पिथौरागढ प्रहरीले साइबर अपराधविरुद्ध सञ्चालन गरेको अभियानअन्तर्गत उनलाई पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ। अदालतले लावडलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ।
प्रहरीका अनुसार अमेरिकाबाट प्राप्त सूचनाका आधारमा सन् २०२६ जुलाई १५ मा बलुवाकोट प्रहरी चौकीमा भारतको सूचना प्रविधि ऐन, २००० को धारा ६७(बी) अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। अनुसन्धानका क्रममा फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री विभिन्न व्यक्तिलाई पठाउने तथा प्रसारण गर्ने कार्यमा लावड संलग्न रहेको खुलेको भारतीय प्रहरीले जनाएको छ।
प्राविधिक अनुसन्धानका क्रममा उक्त सामग्री प्रसारण गर्न प्रयोग भएको मोबाइलको सिम बलुवाकोटकी एक महिलाको नाममा दर्ता भएको पाइएको थियो। तर, सिम उनका भाइ वीर भान राम लावडले प्रयोग गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ। आवश्यक प्रमाण संकलनपछि पिथौरागढ प्रहरीको टोलीले साउन १९ गते लावडलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई अदालतमा पेश गरिएकोमा अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको भारतीय प्रहरीले जनाएको छ।

