धनगढी । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सञ्चालन गरेको स्वयंसेवा तथा इन्टर्नसिप कार्यक्रमका सहभागीले सम्झौताभन्दा कम रकम पाएको गुनासो गरेका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८२र८३ मा सञ्चालित इन्टर्नसिप ९प्रशिक्षण० कार्यक्रमका सहभागीले सम्झौता गरिएकोभन्दा कम रकम भुक्तानी पाएको गुनासो गरेका हुन् ।
विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसबाट आठौँ सेमेस्टरमा अध्ययनरत ८३ विद्यार्थीलाई तीन महिनाका लागि प्रशिक्षण कार्यक्रममा सहभागी गराइएको थियो ।
कार्यक्रममा सहभागी हुने विद्यार्थीलाई विभिन्न पाँच सर्त र सात आचारसंहिता निर्धारण गरिएको थियो । ती सबै सर्त र आचारसंहिता पालना गरेका विद्यार्थीले ९० दिन इन्टर्नसिप गरे पनि निर्वाहभत्ता भने सम्झौताभन्दा कम मात्र पाएको गुनासो गरेका छन् । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मानविकी सङ्काय आठौँ सेमेस्टरमा अध्ययनरत दीपक अवस्थीले गत वैशाख २ गतेदेखि असार ३२ गतेसम्म भीमदत्त नगरपालिका–७ वडा कार्यालयमा प्रशिक्षण गर्नुभयो तर निर्वाहभत्ता भने २३ हजार रुपियाँ मात्रै पाएको उनले गुनासो गरे ।
गत वैशाख १५ गतेदेखि तीन महिना इन्टर्नसिप गर्ने भन्दै नियुक्ति प्राप्त गरेका तेजेन्द्र लुहारले साउन १४ गतेसम्म वडा कार्यालयमा खटिनुभयो । बेदकोट नगरपालिका–४ वडा कार्यालयमा इन्टर्नसिप गर्नुभएका उहाँ निर्वाहभत्ता भने निकै कम पाएको गुनासो गर्नुहुन्छ ।
नियुक्तिपत्रमा प्रतिमहिना १० हजार रुपियाँका दरले भुक्तानी गरिने सम्झौता रहे पनि १८ हजार ६८४ रुपियाँ मात्र पाएको उहाँले बताउनुभयो । केही सिक्ने र दैनिकी खर्च टार्ने भन्दै इन्टर्नसिपमा तीन महिना बिताए पनि आर्थिक रूपमा भने ठगिएको उहाँको गुनासो छ । साउन १४ गतेसम्मको हाजिरी भए पनि आफूले ३० हजार पाउनुपर्ने उनको दाबी छ ।
यसै गरी विश्वविद्यालयले तीन महिनाको कार्यक्रममा सहभागी व्यवस्थापन सङ्कायका दीपा भट्टको खातामा नौ हजार १८ रुपियाँ पठाएको छ ।
विश्वविद्यालयले मनमर्जी तरिकाले निर्वाहभत्ता उपलब्ध गराएको भन्दै विद्यार्थीले आपत्ति जनाएका छन् । विश्वविद्यालयले ३० हजार भुक्तानी गर्नुपर्नेमा शिक्षाशास्त्र सङ्कायका धीरज जोशी, मनाकुमारी बुढा, हेमराज अवस्थी र सुशीला बागको खातामा समान ३१र३१ हजार रुपियाँ पठाएको छ । विश्वविद्यालयबाट इन्टर्नसिप गरेका ७० विद्यार्थीले पाउनुपर्ने निर्वाहभत्ता करिब आधा मात्र पाएको गुनासो गरेका हुन् ।
विश्वविद्यालयले भने एक सय जना विद्यार्थीमध्ये छनोटमा परेका ८३ जना विद्यार्थीको खातामा इन्टर्नसिप गरेबापत भुक्तानी गरिएको जनाएको छ । प्रशिक्षणमा सहभागी विद्यार्थीको हाजिरीका आधारमा उनीहरूको भुक्तानीका लागि मन्त्रालयसँग आग्रह गरिएको सूचना अधिकारी नवीनकुमार बमले बताउनुभयो । विद्यार्थीलाई असार १५ पछि इन्टर्नसिपमा नखटिनसमेत सूचित गरिएको उनले जानकारी गराए ।
सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत उच्च शिक्षामा अध्ययनरत विद्यार्थीका लागि स्वयंसेवा तथा इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्न लागि करिब ४० लाख रुपियाँ बजेट छुट्टाएको थियो तर विश्वविद्यालयले पठाएको विद्यार्थीको हाजिरी र कामका आधारमा ८३ जना विद्यार्थीका लागि २१ लाख ८२ हजार १७६ रुपियाँ निकासा गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता लोकेन्द्रप्रसाद भट्टले बताउनुभयो । विद्यार्थीलाई यस कामले भविष्यमा सहज हुने अपेक्षा गरिएकाले निर्वाहभत्ताको विषयलाई लिएर आशङ्का व्यक्त नगर्नसमेत प्रवक्ता भट्टले आग्रह गरे ।

